Logo

मनाङका उम्मेदवार काठमाडौंमा घरदैलो



काठमाडौं २४ मंसिर ।  मनाङका गाउँमा चिसो ह्वात्तै बढेको छ । दिउँसोबाहेक साँझबिहान बाहिर निस्कन मुस्किल पर्दै गएको छ । गाउँमा भोट मागेर हिँडने बेला उम्मेदवार भने मतदाता खोज्दै काठमाडौं पसेका छन् ।

प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको मनाङका कांग्रेसका तीनैजना उम्मेदवार काठमाडौं छन् । एमालेका प्रतिनिधिसभा उम्मेदवार काठमाडौं छन् भने प्रदेशसभाका उम्मेदवार काठमाडौंमा मतदातासँग भेटघाट गरी गाउँ फर्केका छन् । स्वतन्त्र उम्मेदवार पनि गाउँमै छन् । एमाले अध्यक्षसमेत रहेका प्रतिनिधिसभा उम्मेदवार पोल्देन छोपाङ गुरुङले काठमाडौंका मतदातासँग भेटघाट गरिरहेको बताए । ‘गाउँमा चिसो बढ्यो । अलि सञ्चो नहोला जस्तो पनि भयो । काठमाडौंमै छु, यहींका मतदातासँग भेटघाट गरिरहेको छु’उनले भने । एमाले प्रदेश नं. ४ का सदस्य त्रिपल पी गुरुङले मतदातालाई भेटघाट गर्न पार्टीका उम्मेदवार काठमाडौंमा आएको बताए । ‘हामी आफ्ना आफन्तलाई आफ्नै तरिकाले भेटघाट गर्दैछौं । केही दिनमै हामी मनाङ जान्छौं’उनले भने । एमाले प्रदेश (क) का उम्मेदवार दोर्जे डण्डुल गुरुङ काठमाडौंमा प्रचार सकेर गाउँ फर्केका छन् । प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङ पनि गाउँमै छन् ।

कांग्रेस सभापति समेत रहेका प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर गुरुङले पार्टीका तिनैजना उम्मेदवार काठमाडौं रहेको बताए । ‘म झरेको सातादिन बित्यो । काठमाडौंमै घरदैलो गरिरहेका छौं’ उनले भने, ‘केही दिनमै मनाङ जान्छौं र गाउँमा प्रचारप्रसार थाल्छौं ।’ काठमाडौंमा रहेका आफन्त, इष्टमित्र तथा पार्टीका ब्यक्ति र शुभचिन्तकसँग निरन्तर सम्पर्क र छलफल गरिरहेको उनले बताए । उनका साथमा कांग्रेस प्रदेश (क) का उम्मेदवार चिन्तबहादुर घले, प्रदेश (ख) का उम्मेदवार कर्म गुरुङ छन् । उनीहरुले पनि दैनिक भेटघाटका कार्यक्रम गरिरहेका छन् ।

मनाङका आधाआधी मतदाता काठमाडौंमै रहेको अनुमान गरिन्छ । उम्मेदवारले पनि आधाआधी मतदाता काठमाडौंमै रहेकाले काठमाडौंमै घरदैलो थालेको बताएका छन् । उनीहरुले मनोनयन दर्ता गरेपछि सवै गाउँमा एक चरणको प्रचार अभियान सञ्चालन गरिसकिएको बताएका छन् । उनीहरुको अनुसार माथिल्लो मनाङ र नारफूका प्राय: ब्यापार ब्यवसायका लागि काठमाडौं छन् । मतदान गर्न उनीहरु गाउँ फर्किन्छन् ।

मनाङमा कूल ५ हजार ८ सय ८१ मतदाता छन् । प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सबैभन्दा बढी भ्राका आधारभूत विद्यालय केन्द्रमा ५ सय ३४ मतदाता र सवैभन्दा कम चामेस्थित गाउँपालिका भवन केन्द्रमा ४२ जना रहेका छन् ।

५ मतदानस्थल अति संवेदनशील

सुरक्षा समितिले मनाङका ५ मतदानस्थल अति संवेदनशीलमा सूचीमा राखेको छ । एउटा सिँगै नारफू गाउँपालिकाको ५ वटा मतदानस्थल यस्तो राखेको हो । उक्त ठाउँ प्रतिबन्धित क्षेत्रभित्र पर्छ । सदरमुकाम चामेबाट हिँडेर करिब २ दिनमा पुगिने उक्त ठाउँमा मतदानका समय हिमपात हुनसक्ने, भौगोलिक दृष्टिले निकै टाढा र बढी उचाइमा रहेकाले ‘हाइ अल्टिच्युट’को समस्या हुनसक्ने भन्दै अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । ‘सुरक्षाको दृष्टिकोणले नभई भौगोलिक विकट प्रमुख कारण हो । कुनै पनि समय हेलिकप्टर प्रयोग गर्नुपर्ने हुनसक्छ’उनले भने । ५ मध्ये नार गाउँमा ३ र फू गाउँमा ३ मतदानस्थल रहेको छ ।

९ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ । संवेदनशील मतदानस्थलमा प्राय: माथिल्लो क्षेत्रका रहेका सुरक्षा स्रोतले बताएको छ । ४ गाउँपालिका रहेको मनाङको माथिल्लो मनाङको नेस्याङ गाउँपालिकामा ९ वटा मतदान केन्द्र छन् । नारफू गाउँपालिकामा ५ मतदान केन्द्र छन् । नेस्याङ र नारफू गाउँपालिका प्रदेश (ख) मा पर्छ । चामेमा ५ र तल्लो मनाङको नासोङमा ९ मतदान केन्द्र छन् । चामे र नासोङ प्रदेश (क) मा पर्छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्