Logo

मतदाता शिक्षा सञ्चालन हुन सकेन



लहान, २४ कार्तिक । सिरहामा अझै मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदाता अलमलमा परेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गए पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा अधिकांश मतदाता अलमलमा परेका हुन् ।

निर्वाचन मिति नजिकिँदै गर्दा पनि जिल्लाको कुनै पनि स्थानीय तहमा हालसम्म मतदाता शिक्षा कार्यक्रम शुरु हुन सकेको छैन । निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि सञ्चालन गरिने मतदाता शिक्षाको अभावमा मतदातामा अस्पष्टता र अलमल देखिएको दलका नेता कार्यकर्ताले बताएका छन् ।

“मताधिकारका विषयमा अहिले मतदाता धेरथोर जानकार छन्,” सिरहाका नेकपा ९माओवादी केन्द्र०का नेता रामकुमार यादवले भन्नुभयो, “तर पनि मतदाता शिक्षा पर्याप्त मात्रामा पुग्न सकेको छैन, कतिपय मतदाता अन्योलमा देखिन्छन्, मत बदर हुने सम्भावना बढेको छ ।”

निर्वाचन आयोगबाट नमूना मतपत्रलगायतका मतदाता शिक्षा सामग्री आउन ढिलाइ भएकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले जानकारी दिनुभयो । आयोगबाट मतदाता शिक्षा सामग्री आइपुगेकाले अबको तीन दिनभित्रै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

मतदाता शिक्षा कार्यक्रममा निर्वाचनमा सहभागी हुन र मतदान गर्न जान प्रोत्साहन गर्ने, मतदाताले निर्वाचनसम्बन्धी राखेका जिज्ञासा र अस्पष्टतालाई स्पष्ट बनाउने, मतको महत्व बुझाएर मतदान गर्न सल्लाह दिने, निर्वाचन प्रणाली र सरकार गठनसम्बन्धी व्यवस्थाबारे स्पष्ट बनाउने, हरेक दलका घोषणापत्र हेर्न आग्रह गर्ने, मताधिकार प्रयोगको गोप्यताका बारेमा आश्वस्त पार्नेलगायत विषयमा जानकारी दिइने गरिन्छ ।

प्रतिनिधि सभाको चार र प्रदेश सभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा कूल तीन लाख ४४ हजार ३७० मतदाता छन् । आसन्न निर्वाचनका लागि जिल्लामा ४३६ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्