Logo

मत तान्न आक्रामक प्रचार



काठमाडौं २७ कार्तिक ।
पछिल्लो समय राजनीतिक दल र उम्मेदवारका प्रचार शैली फेरिएका छन् । केही वर्षअघि ठूला आमसभा, समारोह, ¥याली, मार्चपास, भित्ते लेखन जस्ता कार्य गरेर चुनावी प्रचार गर्ने दल तथा उम्मेदवारहरूले पछिल्लो समय गाविस तथा वडास्तरीय सभा समारोह तथा घरदैलोलाई बढी प्राथमिकता दिएका छन् ।

ठूला आमसभा गर्दा बढी खर्चिलो हुने र ठूलो भीड जुटाउन उत्तिनै झन्झटिलो हुने भएपछि दलहरूले ठूला आमसभाका सट्टा साना सभा समारोहमा नै बढी जोड दिएका हुन् । युवाहरू बिदेसिएसँगै दलहरूलाई आमसभामा भीड जम्मा पार्न कठिनाइ हुने र ठूलो आमसभा गरेर ठूलो भीड जम्मा गर्न नसकिने भएपछि पनि दलहरू ठूला आमसभाबाट पछि हटेका हुन् ।

नेकपा एमाले नेता सुवास नेम्वाङले ठूला आमसभा गर्दा बढी खर्च र समय लाग्नुका साथै प्रभावकारी पनि कम हुने भएकाले दलको प्राथमिकतामा नपरेको बताए । ‘यसपटक थोरै मात्र आमसभा होलान्,’ उनले राजधानीसँग भने, ‘ठूला आमसभा गर्न साह्रै मिहिनेत गर्नुपर्ने, एउटा सभा गर्न साता दिनदेखि खटिनुपर्ने, गरेसकेपछि पनि थकाइ हुने, खर्चिलो पनि उति नै हुने त्यसैले पनि प्राथमिकतामा नपरेको हुन सक्छ ।’ प्रदेश १ का मुख्यमन्त्रीको दाबेदार गरिरहेका माओवादी केन्द्रका नेता मौसम लिम्बूले भाषण गर्दा आफ्नो कुरा मात्रै भन्ने तर जनताको कुरो के छ भन्ने थाहा नहुने हुँदा प्रभावकारिता कम देखिएकाले ठूला आमसभा प्राथमिकतामा नपरेको बताए । जनताको आकर्षण ठूला आमसभामा नरहेकाले पनि दलहरूले चासो नदिएको उनले बताए ।

भीड जम्मा पार्ने झन्झटले ठूला आमसभाबाट पछि हटे दल

होर्डिङ बोर्ड, भित्ते लेखन, पोस्टर र पम्प्लेटमा आयोगको कडाइ

खर्च गरेर सामाजिक सञ्जालबाट प्रचार गर्दै उम्मेदवार

उनका अनुसार टोलटोलमा पुगेर भेटघाट गर्ने, वडास्तरीय आमसभाहरू गर्ने, जनगुनासो सुन्ने र सम्बोधन गर्ने गरी चुनावी प्रचार भइरहेको छ । एमाले नेता नेम्वाङ पनि पहिलाका चुनाव प्रचार उत्ताउलो र भड्किलो हुने गरेकोमा अहिले शान्त रूपमा भइरहेको बताए ।
निर्वाचन आयोगले होर्डिङ बोर्ड, भित्ते लेखन, पोस्टर र पम्प्लेट टास्नुलाई आचारसंहिताविपरीत हुने गरी कानुन बनाएपछि पनि यसको कमी आएको हो । आयोगको निर्णयसँगै भड्किलो र उत्ताउलो चुनावी प्रचारमा भने कमी आएको छ ।
होर्डिङ बोर्ड, भित्ते लेखन, पोस्टर र पम्प्लेट रोकिएपछि उम्मेदवारहरूको ध्यान भने सामाजिक सञ्जालमा जोडिएको छ । उम्मेदवारहरूले फेसबुक, ट्विटर, युट्युबलगायत सामाजिक सञ्जालाई चुनावी प्रचारको माध्यमका रूपमा व्यापक प्रयोग गरेको पाइएको छ । उम्मेदवार तथा दलले सामाजिक सञ्जालमा पैसा खर्च गरेर समेत प्रचार गरिरहेका छन् ।
पछिल्लो समय शीर्ष नेता नै घरदैलोमा भ्याइनभ्याई रहेको समेत भेटिएको छ । वाम राजनीतिक विश्लेषक हरि रोका शीर्ष नेता नै घरघरमा पुग्नु र उम्मेदवारहरू ३०÷४० जनाको समूह लिएर घरदैलोमा पुग्नु ठीक नहुने तर्क गर्छन् । ‘पार्टीका अध्यक्ष नै हात जोड्दै घरदैलोमा नै पुग्नु ठीक हैन,’ उनले भने, ‘शीर्ष नेताहरूले भिजन दिने हो, योजना दिने हो, त्यसलाई कार्यकर्ताले जनताको घरसम्म पु¥याउने हो भने शीर्ष नेताहरूले निर्वाचन क्षेत्रस्तरीय सभाहरूमा पुगेर सम्बोधन गर्ने हो ।’
राजधानीबाट



प्रतिक्रिया दिनुहोस्