Logo

यस्तो छ फोरम नेपालको चुनावी घोषणापत्र



काठमाडौं २८ कार्तिक । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन र समृद्ध राष्ट्र निर्माणमा फोरमले जोड दिएको छ ।

कांग्रेस र एमालेका कारण संविधान संशोधन हुन नसकेको भन्दै उनीहरू पहिचानविरोधी र यथास्थितिवादी भएको आरोप फोरम नेपालको घोषणापत्रमा लगाइएको छ । कांग्रेस सैद्धान्तिक रूपमा लोकतान्त्रिक समाजवादी भए पनि राजनीतिक रूपमा यथास्थितिवादी भएको र एमाले नाम मात्रको कम्युनिस्ट पार्टी रहेको आरोप फोरमको छ ।

राष्ट्रिय जनता पार्टी नेपालसँग चुनावी गठबन्धन बनाएको फोरमले उसलाई विगतमा जनसंघर्षभन्दा बढी सत्ताप्राप्तिमा केन्द्रित भएको आरोप लगाएको छ । साथै, राजपा नेपालसँग चुनावी तालमेलले प्रदेश २ मा मधेसवादी गठबन्धनको सरकार बनाउने सम्भावना बढेको आँकलन फोरमले गरेको छ ।

फोरम नेपालले २५ वर्षभित्रमा देशलाई समृद्ध मुलुक निर्माण गर्ने गरी विभिन्न योजना आफ्नो घोषणापत्रमा राखिएका छन् । आगामी १० वर्षभित्र आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै देशलाई विकासशील मुलुकका रूपमा अगाडि बढाउने उसले मुलुककै स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने जनाएको छ ।

पाँच वर्षमै ऊर्जाशक्तिमा आत्मनिर्भर हुने, कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत स्थिर पुँजीका रूपमा विकास गर्ने, दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय दोबर पु¥याउने र निरपेक्ष गरिबीको रेखामुनि रहेकालाई गरिबीमुक्त गर्ने योजना फोरम नेपालले आफ्नो घोषणापत्रमा समेटेको छ । फोरम नेपालले पूर्व–पश्चिम रेलमार्गको डीपीआर तयार गरी पाँच वर्षमा काम अघि बढाउने जनाएको छ ।

काठमाडौंको चक्रपथलाई पाँच वर्षभित्र आठ लेन बनाउने उल्लेख गर्दै उसले पूर्व–पश्चिम हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, चतरा–हेटौंडा सडकलगायतको निर्माण गर्दै समृद्ध राष्ट्र बनाउने योजना बनाएको छ ।

यसैगरी, चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग बनाउने, मुलुकको औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र विकास गरी पर्यटक भिœयाउने र रोजगार सिर्जना गर्ने फोरमले जनाएको छ ।

फोरम नेपालले शासकीय स्वरूपबारे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने फोरमले उल्लेख गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने जनाउँदै फोरमले पहिचान सहितको संघीयता, समतामूलक समृद्धि र सुशासनसहितको आफ्नो पुरानै मुद्दालाई मुख्य एजेन्डा बनाएको छ ।

फोरम नेपालका सहअध्यक्ष एवं घोषणापत्र निर्माण समितिका संयोजकसमेत रहेका राजेन्द्र श्रेष्ठले संविधान संशोधनको मुद्दा आफूहरुको मुख्य मुद्दा भएको र पहिचानका आधारमा संघीय प्रदेश हुनुपर्ने पार्टीको अडान रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्