Logo

शृंखलाबद्ध विस्फोट : चुनावी सुरक्षामा प्रश्न



काठमाडौं २ मंसिर ।
उम्मदेवार लक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए । नुवाकोट १ को ककनी गाउँपालिका ५ डाँडागाउँमा नेपाली कांग्रेसका नेता रामशरण महतको निर्वाचन प्रचारप्रसारमा खटिएका कार्यकर्ता चढेको गाडी साढे १० बजे माइन विस्फोटनमा पर्‍यो । विस्फोटका कारण ५ जना घाइते भए । शुक्रबार बिहान नै पौने १२ बजे रोल्पाको सदरमुकाम लिबाङ जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भयो । चुनावी अभियानमा खटिएको पुनसहितको टोलीलाई बम प्रहार भएको यो तेस्रोपटक हो ।

गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चालेको छैन । स्रोतका अनुसार गृहले २५ कात्तिकमा नै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ । निगरानी गर्ने भनिए पनि सुरक्षा संयन्त्रले विप्लव समूहबाट यस किसिमको चुनौतीको आकलन गरेको थिएन । अघिल्लो साता मात्रै पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा पनि विप्लव समूहबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष्कर्ष निकालिएको थियो । उक्त बैठकमा सहभागी एक प्रहरी अधिकारीले प्रहरी नेतृत्वले विप्लव माओवादीलाई कम आँक्दै तिनीहरूमाथि निगरानी मात्रै बढाउने कुरा उठेको बताए ।

गृहले निर्वाचन सुरक्षासम्बन्धी यसअघिको एकीकृत सुरक्षा योजना परिमार्जन गरेको थियो । गृहले ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०७४’ बनाएर कार्यान्वयनमा ल्याएको थियो । यसअघिको स्थानीय तह चुनावजस्तै यसपटक पनि तीनघेरे सुरक्षा योजना छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना । तर, लगातारका उम्मेदवार लक्षित विस्फोटका घटनाले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमाथि प्रश्न खडा गरिदिएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग कुरा गर्दै बदलिएको परिस्थितिअनुसार सुरक्षा योजनामा फेरबदल गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिइएको बताए । उनले भने, ‘जिल्लाको सुरक्षा अवस्था हेरेर रणनीति बनाउन हामीले अधिकार दिएका छौं ।’ गृहसचिव सापकोटाले विस्फोटनका पछिल्ला घटनाप्रति मन्त्रालय संवेदनशील भएको र निर्वाचन बिथोल्ने समूहमाथि थप निगरानी बढाइएको बताए ।

मन्त्रालयमा शुक्रबारको नियमित सुरक्षा बैठकले एकपछि अर्को गर्दै विस्फोटका घटना बढेको भन्दै संवेदनशील जिल्लाहरूमा चेकजाँच र खानतलासी बढाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय गरेको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्माले जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त सूक्ष्म ढंगले निगरानी गर्न र तत्काल आवश्यक कदम चाल्न निर्देशन दिइएको बताए । विस्फोटका घटना एकपछि अर्को गर्दै बढे पनि गृहले सुरक्षा संवेदनशीलताका हिसाबले कुनै जिल्ला र क्षेत्र छुट्याइएको भने छैन । प्रवक्ता शर्माले भने, ‘कुनै क्षेत्रभन्दा पनि जिल्लाको कुनै भेग र स्थान सुरक्षा दृष्टिले संवेदनशील हुन सक्छन् ।’

प्रहरी प्रवक्ता मनोज न्यौपानेले विस्फोटका शृंखलाबद्ध घटनापछि प्रहरीको सक्रियता बढाइएको बताए । उनले सुरक्षा निकायले संवेदनशील भएर काम गरिरहेको जनाउँदै भने, ‘संवेदनशील ठाउँमा प्रहरीको संख्या बढाएका छौं ।’

प्रहरी स्रोतका अनुसार विप्लव समूहका केन्द्रीयस्तरका अधिकांश नेता भूमिगत छन् । उनीहरूलाई पक्राउ गर्दा राजनीतिक दबाब आउने भयले पक्राउ गर्नेभन्दा पनि निगरानी गर्नेतिर प्रहरी केन्द्रित छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्