Logo

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ब्रेक थ्रु, अर्को पुसदेखि उत्पादन



काठमाडौं ४ मंसिर ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको महत्वपूर्ण सफलतामध्येको मुख्य सुरुङ अर्थात हेडरेस टनेलको ब्रेक थ्रु भएको छ ।

दोलखाको विगु गाउँपालिकास्थित चार सय ५६ मेगावाटको उक्त आयोजनाको १८ दशमलव ३६ किलोमिटर सुरुङमध्ये जोखिम र महत्वपूर्ण मानिएको हेडरेस, भर्टिकल साफ्टसहितको सुरुङ आइतबार ब्रेकथ्रु भएको हो । योसँगै आयोजनाको ९२ प्रतिशत कार्य पूरा भएको छ ।

जोखिम क्षेत्रभित्रको सुरुङलाई विष्फोटको माध्यमबाट आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी, लगानीकर्तादेखि कर्मचारीसम्मले खुसी साटासाट गरे ।

मुख्य सुरुङ जोडिन बाँकी रहेको करिब २ मिटर क्षेत्रलाई प्वाल पारिएपछि उर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणको कार्यकारी निर्देशक, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलगायतका टोली दुवैतर्फबाट छिरेर हात मिलाएर एकआपसमा बधाई ज्ञापन गरे ।

यो सफलतापछि आयोजनाले २०७५ साल पुसदेखि उत्पादन गर्ने घोषणा गरेको छ । आयोजना प्रमुख श्रेष्ठलेले मुख्य सुरुङको ब्रेकथ्रुको सफलतापछि आउने पुससम्म आयोजनाले विद्युत् उत्पादन गरी बिक्री गर्न थाल्ने बताए ।

अब आयोजनाको करिव नौसय ५० मिटर सुरुङ निर्माण बाँकी छ । हालसम्म १७ दशमलव २५ किलोमिटर सुरुङ निर्माण पूरा भएको आयोजनाले जनाएको छ ।

२०६७ सालबाट निर्माण सुरु भएको उक्त आयोजना २०७१ चैत महिनाभित्र सम्पन्न हुने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका कारण करिब १ बर्ष निर्माण कार्य बन्द भएकाका कारण आयोजना २०७५ असार २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको प्रारम्भिक लागत ३५ अर्ब ८३ करोड भनिए पनि हाल लागत बढेर करिब ४२ अर्ब पुग्ने अनुमान गरिएको छ । आयोजनाले गएको असोज महिनामा प्रकाशन गरेको प्रगति विवरणअनुसार ३८ अर्ब ८३ करोड नेपाली रुपैयाँ खर्च भइसकेको छ ।

आयोजनाले दोलखाली जनताका लागि १० प्रतिशत, सर्वसाधरणका लागि १५ प्रतिशत सेयरको व्यवस्था गरेको छ । प्रधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थान तथा नेपाल सरकारसमेतको लगानी आयोजनामा परेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्