Logo

मतदातालाई ओलीको पत्र



काठमाडौं ५ मंसिर ।
एमाले अध्यक्ष केपी ओलीले स्थिर सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै मतदातालाई चिठी लेखेका छन् । चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो पुग्ने पार्टी नेता–कार्यकर्तालाई परिचालन गरी ओलीले आफूले लेखेको पत्र मतदाताकहाँ पुर्‍याएका हुन् । अबको ५ वर्ष वामपन्थीलाई परीक्षण गर्न आग्रह गर्दै ओलीले प्रस्ट बहुमत दिएर स्थिर सरकार बनाउने अवसर अहिले आएको बताएका छन् । ‘तपार्इंहरू (मतदाता)का अगाडि यसपटक वामपन्थीको बहुमतको सरकार बनाएर पाँच वर्ष परीक्षण गर्न पाउने सुनौलो अवसर आएको छ’, ओलीले पत्रमा लेखेका छन् ।

अध्यक्ष ओलीले धर्तीको संरक्षण र मानव जातिको सुख र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै मतदातालाई पत्र लेखेका हुन् । अहिलेसम्म नेपालले पूरा समय काम गर्ने स्थिर सरकार पाउन नसकेकाले देश विकास र समृद्धि हुन नसकेको पनि पत्रमा उल्लेख गरेका छन् । ओलीले दुई तिहाइ बढी मतदाता वामपन्थी पार्टीको हुँदाहुँदै टुटफुटले गर्दा नेपालमा वामपन्थीको बहुमत सरकार बन्न नसकेको उनको प्रस्टोक्ति पनि मतदातालाई दिएका छन् । छोटो अवधिका लागि बनेका अल्पमतका वामपन्थी सरकारले गरेका जनपक्षीय विकासवादी तथा देशभक्तिपूर्ण कामबारे जनता जानकार रहेको भन्दै बहुमत प्राप्त गरेर पूरा अवधि सरकार सञ्चालन गर्न पाउने हो भने धेरै गर्न सक्ने दाबी गरेका छन् ।

पटक–पटकको टुटफुटले बहुमतको सरकार बन्न नसकेको तर्क गर्दै ओलीले वामपन्थीले यस बीचमा छोटो अवधिका लागि मात्र सरकार सञ्चालन गर्न पाएको उल्लेख गरेका छन् । अन्नपूर्णपोष्टले लेखे अनुसार उनले छोटै अवधिमा कम्युनिस्ट÷वामपन्थी सरकारले गरेका काम जनपक्षीय रहेको दाबी गर्दै पूरा अवधि सरकार चलाउन पाउने हो भने धेरै जनपक्षीय काम गर्न सकिने जिकिर पनि गरेका छन् ।

उनले राजनीतिक अस्थिरताको अन्त्य र मुलुकको तीव्र विकासका लागि एमाले र माओवादी केन्द्र एक भएको पत्रमा उल्लेख गरेका छन् । ‘छरिएका वामपन्थी शक्तिलाई एकढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनीतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीव्र गतिमा अगाडि बढाउन यसपालि दुई ढूला वामपन्थी पार्टी मिलेर एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने स्थिति आएको र यो जनताको चाहना, शुभेच्छाकै कारण सम्भव भएको छ’, ओलीको पत्रमा छ ।

कुनै प्रकारको अलमल नगरी झुटा आश्वासन र प्रलोभनमा नपरी निर्धक्कसँग स्थायी सरकार बनाउन गठबन्धनलाई मतदान गर्न ओलीले मतदातासँग आग्रह गरेका छन् । वामपन्थीको सरकार बन्यो भने कसैले पनि पछुताउनु नपर्ने पनि ओलीले पत्रमा उल्लेख गरेका छन् । ‘वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्यो भने मुलुकले अवश्य काचुली फेर्नेछ, तपाईं हाम्रो शिर गर्वले ठडिनेछ,’ ओलीको कथन छ ।

वामपन्थीको सरकार बन्यो भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर प्रचार गर्नेलाई प्रतिप्रश्न गर्दै भ्रममा नपर्न मतदातालाई सुझाएका छन् । ‘भ्रम फैलाउने साथीहरूलाई प्रश्न गर्नुहोस्, तपाईंहरू त कम्युनिस्ट सरकार आयो भने बूढाबूढीलाई गोली ठोकेर मार्छ भन्नुहुन्थ्यो, उल्टै वामपन्थी सरकारले त बूढाबूढीलाई आफ्नै बाआमालाई जस्तै स्याहारसुसार पो गर्‍यो त ?’ ओलीले मतदातालाई पठाएको पत्रमा भनिएको छ, ‘त्यत्ति भन्नुभयो भने उनीहरू नाजावाफ हुनेछन् ।’ चुनावलाई सफल बनाउन र पूर्णरूपमा सदुपयोग गर्न पनि ओलीले मतदातासँग आग्रह गरेका छन् ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्