Logo

तरकारी आयातमा मासिक एक अर्ब



काठमाडौं ६ मंसिर ।
राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको छ । यसको पछिल्लो उदाहरण तरकारी बनेको छ । नेपालीहरूले दैनिक सरदर ३ करोड २२ लाख रुपैयाँबराबरको आयातीत तरकारी खाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिना (साउनदेखि असोजसम्ममा) भारतबाट २ अर्ब ९० करोड ३८ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढी हो । नेपालले गत आव ०७३-७४ को पहिलो तीन महिनामा २ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

नेपालीले काम गर्न छाडेकै कारण तरकारीको आयात बढेको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जयमुकुन्द खनाल बताउँछन् । ‘नेपालीहरूले खेती कर्म गर्न नै छाडिसके, रेमिट्यान्सको आयबाट उपभोग्य वस्तु खरिद गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने, ‘यही कारण तरकारी, चामल तथा अन्नबालीको आयात उच्चदरमा बढिरहेको छ ।’ विदेशमा जस्तोसुकै दुःख गर्न तयार हुने, तर स्वदेशमा उद्यम तथा खेती–किसानी गर्न लजाउने प्रवृत्तिले नेपालको परनिर्भरता झन्झन् बढ्दै गएको उनको भनाइ छ ।

पूर्वाधार र चेतना अभाव
कृषि विकास मन्त्रालयका पूर्वसचिवसमेत रहेका खनालले अन्न तथा तरकारीमा परनिर्भरता बढ्नुमा पूर्वाधार तथा चेतना अभाव पनि मुख्य कारण रहेको बताए । ‘हामीसँग पर्याप्त उन्नत बिउबिजन, मल तथा सिँचाइको चरम अभाव छ,’ उनले भने, ‘यसले पनि हाम्रो उत्पादकत्व क्षमतामा असर गरिरहेको छ ।’ त्यस्तै, कतिपय जनतामा आफैँले तरकारी उत्पादन गर्न सकिन्छ र तरकारीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्नेबारे जानकारी नै नभएकोसमेत उनले बताए । ‘उदयपुरका एक स्थानीयलाई आफैँले काउली उत्पादन गर्न सकिन्छ भन्नेबारे जानकारी रहेनछ,’ उनले अनुभव सुनाउँदै भने, ‘सर्वसाधारणलाई घरघरमा तरकारी लगाउन तथा किसानलाई व्यावसायिक खेतीका लागि सचेत, जागरुक तथा प्रोत्साहन गराउनुपर्ने पनि आवश्यकता देखियो ।’

निर्यातमा भने उच्च गिरावट
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा भारततर्फ जम्मा ३ करोड ९७ लाख रुपैयाँको तरकारी निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले कम हो । अघिल्लो आव २०७३-७४ को असोजसम्ममा ५ करोड ९२ लाख रुपैयाँको तरकारी निर्यात भएको थियो । त्यसअघि २०७२-७३ को पहिलो ३ महिनामा १६ करोड १४ लाखको तरकारी निर्यात भएको थियो । भारतबाहेकका अन्य कुनै पनि मुलुकमा नेपालको तरकारी निर्यात हुँदैन ।

तीन महिनामा सवा पाँच अर्बको चामल आयात
समीक्षा अवधिमा नेपालमा सवा ५ अर्ब रुपैयाँबराबरको चामल आयात भएको छ । कुनै समय भारतमा धान–चामल निर्यात गर्ने नेपालले पछिल्लो तीन महिनामा ५ अर्ब ३७ करोड ६१ लाख रुपैयाँबराबरको चामल आयात गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.९ प्रतिशतले बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका अनुसार गत आव ०७३-७४ को पहिलो तीन महिनामा नेपालले ३ अर्ब ८१ करोड रुपैयाँको चामल आयात गरेको थियो ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्