Logo

उपत्यकामा सुरक्षा बढाइयो



काठमाडौं ६ मंसिर । निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुनसक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको छ ।

महानगरी प्रहरी आयुक्त कार्यालयबाट प्राप्त जानकारी अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये १०, ७, ६, ३ र २ तथा ललितपुरका ३ मध्ये निर्वाचन क्षेत्र १ मा अन्य क्षेत्रको तुलनामा सुरक्षा चुनौती बढ्नसक्ने निष्कर्ष निकाल्दै सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंका निर्वाचन क्षेत्र २ र ३ लाई प्रहरीले सुरक्षा दृष्टिकोणले जोखिमक्षेत्रमा राखेको हो । यी दुई निर्वाचन क्षेत्र सिन्धुपाल्चोकको भोटेचौर र हैबुङसँग जोडिन्छन् ।

नुवाकोट र धादिङगसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७ तथा मकवानपुरसँग जोडिएको क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ । मकवानपुरसँग सीमा जोडिएको ललितपुरको क्षेत्र नम्बर १ मा विप्लव समूहको सक्रियता रहेको भन्दै प्रहरीले जोखिम सूचीमा राखेर सोही अनुसार सुरक्षा सतर्कता र परिचालन बढाएको छ ।

‘मकवानपुर, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका सीमावर्ती क्षेत्र र उपत्यकाभित्र निर्वाचन विरोधी समूहको चहलपहल हुने क्षेत्र पहिचान गरी सोही अनुसार सुरक्षाक संयन्त्र परिचालन भइसकेको छ,’ आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘सीमावर्ती क्षेत्रमा निगरानीका लागि ३ नम्बर प्रदेश प्रहरी कार्यालयसँग समेत समन्वय भइरहेको छ ।’

नाकामा बढ्यो निगरानी

उपत्यकाबाहिरका जिल्लामा उम्मेदवार केन्द्रित आक्रमणका घटना बढेलगत्तै उपत्यकामा सेनाबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० हजार जनशक्ति परिचालित छन् ।

निर्वाचनविरुद्ध आतंक फैलाउन उपत्यकाका भित्री सहर, भिडभाड हुने बसपार्क, सिनेमा हल, सपिङ मलमा विष्फोटक पदार्थ राख्न सक्ने आशंकामा विष्फोटक पदार्थ पहिचान गर्ने तालिमप्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको आयुक्त कार्यालयका प्रवक्ता पूर्णचन्द्र जोशीले जानकारी दिए ।

छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ र मकवानपुरबाट उपत्यका प्रवेश गर्ने १६ नाका छन् । त्यसमा सवारीसाधनको प्रयोग हुने ८ नाकामध्ये ४ वटामा अत्यधिक चाप हुन्छ ।

सवारीसाधनको चाप हुने नागढुंगा, दक्षिणकाली, साँखु र जगातीमा तालिमप्राप्त कुकुरसहित विशेष प्रहरी टोली परिचालित छन् । ती नकामा सवारीसाधन जाँचमा मेटल डिटेक्टर र क्लोज सर्किट टेलिभिजनसमेत प्रयोग गरिएको छ । नुवाकोट हुँदै काठमाडौं प्रवेश हुने बालाजु नाकामा समेत सुरक्षा सतर्कता बढाइएको छ । यसअघि आपराधिक समूहले उपत्यका भित्रिन र अपराध गरेपछि बाहिरिन साङलेखोला र सीतापाइला क्षेत्रको सडक प्रयोग गरेको देखिएपछि यी दुवैै नाकामा समेत चेकपोस्टसहित सुरक्षा टोली खटाइएको आयुक्त कार्यालयले जानकारी दियो ।

‘घटना भएपछि सुरक्षाकर्मी परिचालनभन्दा घटना हुनै नदिनेगरी सुरक्षा रणनीति बनाएर सादा पोसाकका प्रहरी संख्या बढाएका छौं,’ एआइजी चन्दले भने, ‘आकस्मिक जाँच र छापा मार्ने क्रमसमेत जारी छ ।’



प्रतिक्रिया दिनुहोस्