Logo

निर्वाचनपछिको एकमात्रै एजेण्डा अब आर्थिक क्रान्ति, समृद्धिको विकल्प छैन : डा. महतो



काठमाडौँ, १० मंसिर । समाजसेवी डा. विरेन्द्र प्रसाद महतोले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आम मतदातामा आह्वान गरेका छन् ।

पहिलो चरणमा आज आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा पूर्व सांसद समेत रहेका महतोले जारी गरेको शुभकामना सन्देशमार्फत यस्तो आह्वान गरेका हुन् । पहिलो चरणमाझैं मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि उत्साहजनक सहभागिता होस् भन्दै निर्वाचनलाई पर्वको रुपमा लिन महतोको आग्रह छ ।

उनले नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयन र मुलुकमा आर्थित्र क्रान्तिको प्रारम्भ गर्नका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने समेत विश्वास व्यक्त गरेका छन् । डा. महतोले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै निर्वाचनपछि मुलुकमा आर्थिक क्रान्तिको जग बसाल्न सबै दल एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्,“आपसी सहयोग र मेलमिलाप आजको आवश्यकत्ता हो, मुलुक बनाउने जिम्मेवारीबाट कोहीपनि विमुख हुनुहुँदैन, सबै दलहरु काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने बेला आएको छ, अब आर्थिक क्रान्ति कसरी गर्ने र देशलाई समृद्ध कसरी बनाउने भन्नेमा हाम्रो चिन्ता केन्द्रित हुन जरुरी छ।”

नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको भुमरीमा रुमलिएको तितो यथार्थ भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै अब राजनीतिक एजेण्डाभन्दापनि आर्थिक एजेण्डामा बढि केन्द्रित हुने बेला आएकोले ढिला नगरीकन यो महाअभियानमा सबै दल, नेता तथा कार्यकर्ताहरु दत्तचित्त भएर उत्साहका साथ लाग्नुको विकल्प नभएको उनको धारणा छ ।

आधारभुत आवश्यकत्ता पुर्तिको लागि नेपालीले अब खाँडीमा गएर आफ्नो पसिना चुहाउन नपरोस भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना गरेर लाखौं जवान युवाहरुलाई स्वदेशमा फर्काउने बेला आएको बताए । उनले थपे,“अब पनि राजनीतिक विषयमा अल्झिने होईन, हामीले त कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर सोच्ने बेला आयो, जबसम्म आर्थिक उन्नती हुँदैन र परिवारले खाना खान पाउँदैन, स्वास्थ्य, शिक्षाको सबैलाई उचित अवसर हुँदैन, तबसम्म यहाँ संविधान आएको अथवा गणतन्त्र आएको भन्ने भान हुँदैन।”

महतोले विगतमा दलहरुवीच भए÷गरेका र उत्पन्न भएका तितामिठा मनमुटावहरुलाई तिलाञ्जली दिनुपर्ने भन्दै राष्ट्रिय सहमति, एकता र सहकार्यका साथ मुलुकको आर्थिक समृद्धिको महान यात्रामा अब कहिल्यै विभाजित हुँदैनौं भनेर हिँड्नुपर्ने बताए । उनले भने,“हिजोका सबै तिता कुराहरु विर्सनुपर्छ, दलहरुवीचको आपसी समझदारी र सहकार्य भयो भनेमात्रै विकासमा नयाँ आयाम थपिन्छ ।

यो निर्वाचनको सफलतासँगै केन्द्र र प्रदेशमा नयाँ सरकार गठन र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चुनाव भएपछि मूलतः संक्रमणकालीन शासन व्यवस्थाको अन्त हुनेछ र नेपाल राष्ट्रले नयाँ खुड्किलोमा प्रवेश गर्दै समृद्ध, आत्मनिर्भर, समुन्नत र स्वाभिमानी राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्ने उनको विश्वास छ ।

नेपाली जनताले सदियौँदेखि देखेको सपनालाई मूर्तरूप दिनको लागि पनि दलहरुवीच आपसी समझदारी र सहकार्य आवश्यक रहने महतोको भनाई छ । उनले थपे,“शिक्षा, स्वास्थ्य, रोजगारको उचित व्यवस्था गर्न सक्नुपर्छ, आधारभुत आवश्यकत्ता सबैे परिवारले पूरा गर्न सक्नुपर्छ, यो जनताको अपेक्षालाई सम्बोधन गर्नैपर्छ, गणतन्त्र र नयाँ नेपालको भाषण वा रटानलेमात्रै आर्थिक समृद्धि हाँसिल हुँदैन, त्यसको लागि अब जग हाल्ने बेला आयो।”

नेपाललाई प्रकृतिले पनि साथ दिएको बताउँदै उनले अघि भनेका छन्“हामी हाम्रो देशलाई आफ्नै स्रोत र साधनहरुबाट उन्नती गर्न सक्छौं, नेतृत्वमा ईमानदार ईच्छाशक्तिको खाँचो छ, नेतृत्व वर्गले व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ, विश्वका धेरै मुलुकहरु छोटो समयमा विकास भएको हामीले देखेका छौं, ती देशहरु विकास हुनुमा त्यहाँका नेतृत्वमा देखिएको गम्भिरता र स्वार्थरहित भावना नै हो । उनले राजनीतिक संक्रमणबाट गुज्रिएका धेरै देशहरुले छोटो समयमा प्रगति गरेकोले नेपालले पनि विकास गर्न सक्नेमा कुनै शंका गर्ने ठाउँ नै नरहेको स्पष्ट पारे ।

उनले दृढ संकल्पका साथ काम गरियो भने नेपाललाई पनि अबको पाँच वर्ष वा दश वर्ष्भित्र संसारको नमूना विकास राष्ट्रको रुपमा अघि बढाउन सकिने दाबी गरेका छन् । उनले भनेका छन्,“आजको युग भनेको पुँजीको युग हो, व्यापारको युग हो, त्यसैले विकासमा हामी सबैको ध्यान जान जरुरी छ, मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा अघि बढाउन सकियो भनेमात्रै गणतन्त्रको असली सार्थकता हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्