Logo

नवलपरासी सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ : त्रिपाठी र कलवारबीच चुनावी प्रतिस्पर्धा



पुरुषोत्तम सुवेदी :  नवलपरासी, १० मंसिर : पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी– बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ बाट त्रिपाठी र कलवार उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि राजनीतिमा क्रियाशील त्रिपाठी र सन्तु भनिने सामान्य किसान कलवारबीच चुनावी प्रतिस्पर्धा देखिएपछि रोचक बनेको हो ।

त्रिपाठीको काठमाडौँ र नवलपरासीमा घर तथा कलवारको नवलपरासीमा घर र केही खेतबारी छ । मधेशकेन्द्रित दलमा सक्रिय त्रिपाठीले अहिले नेकपा(एमाले)को चुनावी चिह्न लिनुभएको छ ।
यसअघिको निर्वाचनमा त्रिपाठीलाई करिब छ हजार मतअन्तरबाट कलवारले पराजित गर्नुभएको थियो । यस पटक त्रिपाठी र कलवारबीच निकै प्रतिस्पर्धा देखिन्छ । विसं २०७० भन्दा अगावैका निर्वाचनमा सोही क्षेत्रबाट त्रिपाठी त्रिपाठी र २०७० को निर्वाचनमा कलवार विजयी हुनुभएको थियो ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएकाले पनि निर्वाचन जित्ने त्रिपाठीको जिकिर छ तर अघिल्लो पटक बढी मतअन्तरले त्रिपाठीसँग चुनाव जितेको र यस पटक मधेसी जनअधिकारफोरम नेपाल(लोकतान्त्रिक)सँग भएको पार्टी एकीकरणबाट समत आफ्नो जितमा सहयोग मिल्ने कलवारको भनाइ छ ।

वाम गठबन्धनको समीकरणले नेता त्रिपाठी र लोकतान्त्रिक गठबन्धनले कलवारबीच कडा प्रतिस्पर्धा छ । चुनाव आफ्नो दाउमा लिन दुवै पक्षका अगुवा नेता एवं कार्यकर्ता गाउँगाउँ मतदाता फकाउने कार्यमा व्यस्त छन् । त्रिपाठी र कलवारको चुनावी अवस्थाबारे बुझन ग्रामीण क्षेत्रका जनता पनि उत्तिकै उत्सुक छन् ।

ठूलो भीडभाड लिई गाउँ÷गाउँमा पस्नुभएका यी नेता उखु, डुबान कटान, बाढी, बाटोघाटो, स्वास्थ्य शिक्षालगायत पुरानै कार्यसूची दोहो¥याइरहेका छन् । विसं २०४८ देखि २०६४ सम्मको निर्वाचनमा लगातार चार पटक बाजी मार्दै आउनुभएका त्रिपाठी चुनाव जसरी पनि आफ्नो पक्षमा पार्न वामगठबन्धनबाट एमालेको चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेको बताइन्छ ।

त्रिपाठी यस पटकको निर्वाचनमा वाम गठबन्धनसँग नजिक भए पनि आफूले उठाउँदै आएको मधेस विभेदको विषय जीवन्त रहेको बताउनुहुन्छ ।

त्रिपाठी किन वामगठबन्धनमा

विगतमा त्रिपाठीले जित्दै आउनुभएका निर्वाचन क्षेत्र अहिले परिवर्तन भएकाले त्रिपाठी केही फरक सोच्न बाध्य भएको बताइन्छ । विसं २०६४ सम्म त्रिपाठीले जित्दै आएको निर्वांचन क्षेत्र मुख्य मधेस क्षेत्र थियो । यद्दपि अहिले बर्दघाट नगरपालिका त्रिपाठीको निर्वाचन क्षेत्रमा समावेश भएको छ ।

अहिले त्रिपाठीको निर्वाचन क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका ४, ५, ६, ७ नं वडा जोडिएका छन् । राजमार्गदेखि सीमासम्म बनेको नयाँ निर्वाचन क्षेत्रमा करिब ६० प्रतिशत पहाडी समुदायको बस्ती छ ।

स्थानीय तहको चुनावलाई हेर्दा बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा एमाले जितेको छ भने प्रतापपुर र सरावल गाउँपालिकामा काँंग्रेस र तत्कालीन फोरम(लोकतान्त्रिक)ले जितेका छन । अहिले नयाँ बनेको निर्वाचन क्षेत्रमा न त एमाले जित्न सक्थ्यो न त राजपाबाट त्रिपाठी जित्ने अवस्था थियो । अहिलेको निर्वाचन क्षेत्रमा एमालेको राजमार्ग क्षेत्रमा वर्चश्व छ भने दक्षिणी क्षेत्रमा राजपाको र राजपाभन्दा पनि त्रिपाठीको वर्चश्व छ । काँग्रेसको भने सीमादेखि राजमार्ग क्षेत्रसम्म प्रभाव छ ।

राष्ट्रिय राजनीतिमा त्रिपाठी र कलवार

विसं २०४८ सालको निर्वाचनमा नेता त्रिपाठीले तत्कालीन निर्वाचन क्षेत्र नं ३ मा नेपाल सद्भावना पार्टीबाट जित्नुभएको थियो । त्यति बेला काँग्रेसका नन्दलाल मिश्र त्रिपाठीको मुख्य प्रतिद्वन्द्वी हुनुहुन्थ्यो ।

विसं २०५१ को मध्यावधि संसदीय निर्वाचनमा पनि नेसपाबाट त्रिपाठीेले १५ हजार २९७ मत प्राप्त गरेर जित्नुभयो । उहाँका मुख्य प्रतिद्वन्द्वी काँग्रेसका त्रियोगीनारायण चौधरीले ११ हजार ७२९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै २०५६ सालमा सोही निर्वाचन क्षेत्रबाट त्रिपाठी विजयी हुनुभयो । त्रिपाठीले १८ हजार १३३ र मुख्य प्रतिद्वन्द्वी चौधरीले १७ हजार ३४९ मत प्राप्त गर्नुभएको थियो ।

नेपालको इतिहासमा विसं २०६४ पहिलो पटक भएको संविधानसभा सदस्य निर्वाचनमा पनि त्रिपाठी नै विजयी हुनुभयो । त्यति बेला नेपालको निर्वाचन क्षेत्र परिवर्तन भएको थिो । त्यसभन्दा पहिला चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा विसं २०६४ मा छ निर्वाचन क्षेत्र कायम भयो ।

विसं २०६४ मा तराई–मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिनुभएका त्रिपाठी १० हजार २९ मत प्राप्त गरी विजयी बन्नुभयो । त्रिपाठीका प्रतिद्वन्द्वी काँग्रेसका कलवारले नौ हजार ८५६ मत प्राप्त गरी चित्त बुझाउनुप¥यो ।
विसं २०६४ मा उक्त निर्वाचन क्षेत्रमा तमलोपा र काँग्रेसको मात्र उम्मेदवारी परेको थियो । विसं २०७० मा भएको दोसं्रो संविधानसभाको निर्वाचनमा त्रिपाठीलाई राजनीतिक इतिहासमा पहिलो पटक पराजय भोग्नुप¥यो । २०६४ मा जम्मा १७३ मतले पराजित काँग्रेसका कलवारले दोस्रो संविधानसभा निर्वाचनमा छ हजार १५६ मतले त्रिपाठीलाई पराजित गर्नुभयो ।

त्रिपाठीलाई धेरैले मधेस क्षेत्रका जनताको हकहितका लागि एक बलियो नेताका रुपमा विश्वास गर्छन् । विगतमा त्रिपाठी धेरै पार्टी परिवर्तन गरे पनि क्षेत्रीय पार्टीमै रहनुभयोे । ती पार्टीमा त्रिपाठीले दोस्रो तहको भूमिका निर्वाह गर्नमै माहिर बन्नुभयो । उहाँ अहिलेको चुनावमा कार्यकर्ता भेटघाट र घरदैलोमा व्यस्त हुनुहुन्छ् । त्रिपाठीेको निर्वाचन लक्षित कार्यक्रम विगतका निर्वाचनभन्दा तीव्र रुपमा अघि बढिरहेको देख्न सकिन्छ ।

नेता त्रिपाठीसँग २०६४ देखि चुनावमा जुझ्दै आउनुभएका कलवार नै फेरि त्रिपाठीसँग मुख्य प्रतिद्वन्द्वीको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै राजपा नेपालबाट अरुणकुमार सिंह घर्ती उम्मेदवार हुनुहुन्छ तर प्रतिस्पर्धा त्रिपाठी र कलवारबीच नै देखिन्छ. । त्रिपाठीकै कारण सो क्षेत्रमा राजपा बलियो रहेको थियो तर अहिले त्रिपाठी वाम गठबन्धनबाट उम्मेदवार भएपछि तिनका करिब ७० प्रतिशत कार्यकर्ता त्रिपाठीसँगै छन् । नेता कलवारले दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतले त्रिपाठीलाई पराजित गरेकाले अहिले आफू नै प्रभावशाली भएको जिकिर गर्नुभएको छ ।

नेता कलवारले सुस्ता जस्तो विकट ठाउँमा पुलको योजना ल्याई काम शुरु गराएको, सडक सञ्जालको विकास गरेको र उखुलाई राष्ट्रिय बालीमा सूचीकृत गराई उचित मूल्यका लागि निरन्तर पहल गरिरहेकाले आगामी निर्वाचनमा फेरि पनि जनताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधनमार्फत सबै वर्गका अधिकारको प्रत्याभूत गर्नुपर्ने भएकाले संविधान संशोधनको विषय अघि बढाएकाले जनतालाई आफूलाई चुनाव जिताउनेमा त्रिपाठी पनि आशावादी हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्