Logo

भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड



काठमाडौं ११ मंसिर । बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको उद्देश्य नै चर्चित माफिया डन दाउद इब्राहिमजस्तो भूमिगत भएर पैसा कमाउने थियो । उनले त्यही सिको गरे । भारतमा गए । प्रहरीलाई कसरी प्रविधिमा झुक्याउन सकिन्छ, सिके । त्यसपछि नेपालमा व्यवसायीहरूलाई धम्क्याउन थाले ।

केही व्यवसायीले हुन्डीमार्फत उनलाई फिरौती दिए, केहीले दिएनन् । त्यसपछि अरूलाई तर्साउन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या योजना बनाए । तिवारीसँग उनको व्यक्तिगत रिस पनि थियो । सोहीकारण उनले तिवारीलाई आफ्नो निशाना बनाए । लगत्तै उनले आफूले हत्या गरेको भन्दै इप्रका बुटवलका तत्कालीन डिएसपी मुकुन्द मरासनीलाई फोन गरी पुनले जिम्मा लिएका थिए । प्रहरीले एक महिना लामो अनुसन्धानपछि उनका सहयोगीलाई पक्राउ गर्यो, तर पुनलाई पक्राउ गर्न सकेन । उनलाई पक्राउ गर्न पटकपटक प्रहरी भारत गए पनि सफल हुन सकेन ।

प्रहरीले पाएको सूचनाअुनसार उनले अर्कै नाममा भुटानी पासपोर्ट बनाइसकेका छन् । सोही पासपोर्ट प्रयोग गरी उनी विदेश जाने गर्दछन् । त्यस्तै उनी रसियन प्रेमिकासँग बस्दै आएका छन् । पक्राउ पर्ने डरले उनी फोन प्रयोग गर्दैनन्, भारतकै विभिन्न सहरहरूमा घुम्ने गरेका छन् । उनलाई भारतमा केही व्यक्तिहरूले समेत संरक्षण गरेको आकलन गरिएको छ ।

हुन्डी र प्रविधिले प्रहरी दबाबमा
गौचन हत्यामा संलग्नहरू पक्राउ गर्न नेपाल प्रहरीका अनुसन्धानमा अब्बल सबै दुई दर्जन प्रहरी अधिकारीहरू आबद्ध थिए । तर पनि उनीहरूले गिरोहका नाइकेहरू कसैलाई पक्राउ गर्न सकेनन् । किनकि उनीहरूले प्रहरीले भन्दा आधुनिक प्रविधिको प्रयोग गरेका थिए । प्रहरीको सबै अनुसन्धान विधि थाहा थियो ।

उनीहरूले स्काइपमार्फत मात्र एकअर्काबीच फोन गर्दथे । व्यवसायीलाई धम्क्याउँदा पनि डिङटोन नामक एप्लिकेसन प्रयोग गर्दथे । जसबाट प्रोक्सी सर्भरबाट फोन जाने भएकाले अनुसन्धान गर्नै सम्भव नभएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसैको फाइदा उठाउँदै उनीहरू विदेशमा लुकेर धम्क्याउँदै पैसा असुलिरहेका छन् । प्रविधिमा राज्यले सहयोग नगर्दा आफूहरूलाई अपराध अनुसन्धानमा समस्या भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी बताउँछन् ।

पैसा पनि उनीहरूले हुन्डीबाट लिने गरेका छन् । हुन्डीबाट पनि सीधै भारतमा मगाउँदैनन् । दुबईमा पठाउन लगाएर दुबईबाट भारतमा बुझ्ने गरेका छन् । हुन्डी कारोबारका कारण अपराध नियन्त्रण निकै कठिन हुँदै गएको डिआइजी केसी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्