Logo

राउटे युवकको उपचार हुँदै



दैलेख, १४ मंसिर । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ ।
आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो ।

सत्यदेवी अधिकारीका पहलमा काठमाडौँंमा उपचार गराएर निको भएको उनको घाउ पुनः बल्झिएको छ । घाउ बल्झिएपछि अहिले दैलेख अस्पतालमा उनको उपचार भइरहेको छ ।

विसं २०७२ मा अछामको भैरवस्थानमा बसोबास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । कपिलको कीरा परेको घाउको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिलसँगै अन्य दुई राउटेलाई काठमाडौं लगेर उपचारका गराएकी थिइन् ।

परम्परागत औषधोपचारलाई मुख्य ठान्दै आएका राउटे युवाले पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ ।

औषधि खान नमान्ने समुदायले आजभोलि बिरामी पर्दा उपचार गर्न र औषधि खान शुरु गरेको छ । चिसोका कारण समस्यामा परेको सो समुदाय अहिले भैरवी गाउँपालिका– ५ सैनचौरमा बसोबास गर्दै आएकोछ ।

गुन्योको पातलो छानामा जीवन गुजारा गर्दैआएको राउटे समुदाय आफूहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँछ । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएको सो समुदायले निर्माण गरेका कोशी, मधुस आदि बिक्रीवितरण हुन छाडेपछि समस्या थपिँदै गएको बताइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot