Logo

कास्की कसको किल्ला ?



काठमाडौं १५ मंसिर ।
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावी प्रचार अभियान तीव्र भएको छ । दलहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार घरदैलो, कोणसभा, आमसभा तथा भेटघाट गरिरहेका छन् । यसअघिका निर्वाचनमा जिल्लामा मिश्रित परिणाम आउने गरेकामा यसपटक कसको पोल्टामा जाला भन्ने अडकलबाजी हुन थालेका छन् ।

कास्कीमा वाम गठबन्धन र कांग्रेसबीच कडा टक्कर देखिन्छ । दुवै प्रतिस्पर्धीबीच जिल्लालाई लोकतान्त्रिक किल्ला बनाउने कि वाम किल्ला बनाउने भन्ने रस्साकसी चलेको छ । २०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा तीन क्षेत्र थिए । दुई वटा संविधानसभा निर्वाचनमा चार क्षेत्र भएकामा अहिले फेरि घटेर तीनमै झरेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस र एमालेले २/२ सिट जितेका थिए भने ०६४ को पहिलो संविधानसभामा माओवादीले ३ र एमालेले एक सिट जितेर वाम किल्ला बनाएका थिए । ०५६ को संसदीय निर्वाचनमा कांग्रेसले सबै तीन सिट नै जितेको थियो । ०४८ र ०५१ मा कांग्रेसले एक र एमालेले दुई सिट जितेका थिए ।

अहिलेको संघ र प्रदेशको निर्वाचनमा यसअघिका परिणाम दोहोर्‍याउन दुवै पक्ष लागिपरेका छन् । कांग्रेस ०५६ कै विरासत दोहोर्‍याउने दाउमा छ भने वाम गठबन्धन पनि पुरानै जित कायम गर्ने योजनामा छ । दुई कम्युनिस्ट पार्टी मिलेकाले तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवार विजयी हुने गठबन्धनको विश्वास छ । कांग्रेसले अखण्ड नेपाल पार्टी मिसिएको र अन्य लोकतान्त्रिक शक्तिबाट पनि सहयोग मिल्ने भन्दै जित सुनिश्चितताको दाबी गरेको छ । वाम गठबन्धनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई मूल नारा बनाएको छ भने कांग्रेसले अधिनायकवाद आउने र स्वतन्त्रता गुम्ने भन्दै सबै प्रकारका स्वतन्त्रताका लागि मत मागेको छ । कास्की कांग्रेसका कार्यवाहक सभापति यो आवधिक निर्वाचन मात्र नभएर संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण कडी पनि भएकाले सबै परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘यसअघि मिश्रित परिणाम आए पनि यसपटक सबै क्षेत्रमा कांग्रेसका उम्मेदवारले जित्नेछन्,’ उनले भने, ‘लोकतन्त्रलाई संस्थागत गर्ने दायित्व कांग्रेसको रहेको, सक्षम उम्मेदवार, एजेन्डा र प्रतिबद्धता हाम्रा जितका आधार हुन् ।’ उनले स्थानीय तहमा व्यवस्थापकीय कौशलताको कमजोरीले हार बेहोर्नुपरेको भन्दै यसपटक भने सांगठनिक गतिविधि र व्यवस्थापनलाई चुस्त बनाइएको बताए ।

उता एमाले कार्यवाहक अध्यक्ष दामोदर वैरागीले संघ र प्रदेशमा सबै सिट जित्ने दाबी गरे । दुई पार्टीको गठबन्धन, विगतमा भएका काम र ५ देखि ३५ वर्षसम्म गरिने दीर्घकालीन तथा अल्पकालीन विकासका योजनासहितको प्रतिबद्धतालाई जित्ने आधारका रूपमा उनले प्रस्तुत गरे । ‘संघीयता, गणतन्त्रलगायत राजनीतिक उपलब्धिको रक्षा र संस्थागत गर्दै राजनीतिक स्थायित्व र समृद्धितर्फ जाने नारासहित जनतासमक्ष गएका छौं,’ उनले भने, ‘समृद्धिका लागि भौतिक पूर्वाधार पहिलो खुडकिलो भएकामा जोड दिएका छौं ।’

कुनै बेला एकल जातीय अर्थात् पहिचानको मुद्दासहित दिनहुँजसो आन्दोलन हुने ठाउँ पनि हो कास्की । यसैको जगमा जन्मिएको संघीय समाजवादी फोरमको पनि यहाँ उपस्थिति छ । एकल जातीय र संघीयताको विपक्षमा यहींबाट जन्मिएको अखण्ड नेपाल पार्टी अहिले कांग्रेसमा विलय भएको छ । यसले पनि चुनावी नतिजामा प्रभाव पार्न सक्छ ।

अहिले पहिचानको मुद्दा ओझेलमा परेको जस्तो देखिएको तर सुसुप्त रूपमा रहेको बताउँछिन् अधिवक्ता जुना गुरुङ । ‘जातीय रूपले केही मत फरक पनि पार्न सक्छ,’ उनले भनिन् । राजनीतिशास्त्रका उपप्राध्यापक कपिलमणि दाहाल भने पहिचानको मुद्दा बोकेर हिँड्नेहरू अहिले अर्कै पार्टीमा समाहित भइसकेकाले अब निर्वाचनको मत परिणाममा खासै असर नगर्ने दाबी गर्छन् ।

कास्की क्षेत्र १ मा प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र पूर्वमन्त्री खगराज अधिकारी चुनावी मैदानमा छन् । २०६४ मा पराजित थापाले दोस्रो संविधानसभा निर्वाचनमा भने जितेका थिए । ०४८ को संसदीय निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटसँग हारेका अधिकारीले ०५१ को मध्यावधि निर्वाचनमा उनै रानाभाटलाई हराएका थिए । ०५६ मा पनि रानाभाटसँगै चुनावी मैदानमा उत्रिएर पराजित अधिकारी ०६४ मा पनि पराजित भएका थिए । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क) मा कांग्रेस कास्की सभापति कृष्ण केसी र माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज दीपक कोइराला भिडदै छन् । उनीहरूका लागि चुनाव पहिलो अनुभव हो । त्यसैगरी प्रदेश (ख) का लागि कांग्रेस केन्द्रीय सदस्य जीवन परियार र एमाले जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ भिडदै छन् । यसअघि समानुपातिक सभासद भए पनि परियार र गुरुङको प्रत्यक्ष निर्वाचनमा भने पहिलो अनुभव नै हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot