Logo

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने



धनकुटा, १५ मंसिर । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ ।

धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् ।

हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ ।

“कागतेलाई वैकल्पिक शहरको रूपमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ”– धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले भन्नुभयो ।

प्रशस्त मात्रामा डाले घाँस पाइने सो क्षेत्रमा बाख्रापालनको पर्याप्त सम्भावना छ । बाख्रापालनलाई अगाडि बढाउन रु दुई लाख बराबरको उन्नत बोयर जातका दुईवटा बोका कागते ल्याइएको छ । अध्यक्ष घिमिरेले भन्नुभयो, “दुईवटा कृषि समूह बनाएर ती बोका वितरण गरिएको छ ।”

त्यसैगरी पातले, सेउले र लाकुरेलाई गाई भैँसी र नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास गरिँदै छ भने कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको छ ।

‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन् । निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने छ ।“हरियालीलाई विशेष प्राथमिकता दिएका छौँ, घरको छेउछाउमा फूल, धुपीका बिरुवा रोप्न शुरू गरेका छौँ” उहाँले भन्नुभयो ।

कागतेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ । कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ । अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ ।

करिब दुई हजार ६०० जनसंख्या रहेको सो वडामा राई, क्षेत्री, बाहुन, दलित, नेवारलगाायत समुदायको बसोबास रहेको छ । त्यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन् ।

कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाइँदै छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्