Logo

मतदाता शिक्षामा दलकै भर



काठमाडौं २० मंसिर ।
बुटवलबाट ४० किमि दक्षिणको डनवाक्सापुरमा दुर्गावती हरिजनले सोधिन्, ‘मोहर मार्के कसैन वा।’ चुनाव प्रचार प्रसार सकिँदासम्म हरिजनलाई भोट कसरी हाल्ने भनेर कसैले सिकाएको छैन। न उनलाई कतिवटा मतपत्रमा छाप लगाउनुपर्छ भन्ने नै जानकारी छ। प्रचारमा उम्मेदवार भोट माग्दै गाउँ गाउँ आए पनि ग्रामीण क्षेत्रका धेरै मतदाता भोट कसरी हाल्ने थाहा नभएको बताउँछन्। यो समस्या समाधान गर्न अहिले दलहरूले समूह बनाएर मतदानको तरिका सिकाइरहेका छन्। मझगाउँका राजेन्द्र यादव पार्टीका तर्फबाट एक हजारभन्दा बढीलाई भोट हाल्ने तरिका सिकाएको बताउँछन्। उनले भने, ‘हामीले आफ्नो दलको चुनाव चिह्नमा कसरी छाप लगाउने भनेर सिकाएका छौं। पार्टीका तर्फबाट सिकाउने भएपछि अरूको चुनाव चिह्नमा छाप लगाउन भन्ने कुरा भएन।’

मतदान गोप्य हुने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा कसले कसलाई मत दिन्छ भन्ने दलका कार्यकर्तालाई थाहा छ। त्यहीअनुसार उनीहरूले मत कसरी राख्ने भनेर सिकाउँदै हिँड्ने गरेका हुन्। सेमरीमाई गाउँपालिका ७ का वडाध्यक्ष अब्दुल सकर मुसलमान आफ्नो पार्टीका मतदातालाई छाप लगाउन सिकाएको बताउँछन्। उनी भन्छन्, ‘हामीले हाम्रो वडामा सिकाइसक्यौं। अरू वडामा के गरेका छन्, थाहा छैन।’ दलहरूले चुनाव प्रचारमा जस्तै मतदान गर्न सिकाउने टोलीलाई गाडी दिएर घर घरमा पठाएका छन्। गाडीमा पार्टीको झन्डा मात्र हुँदैन, माइकबाट उम्मेदवारको प्रचार प्रसारसमेत गरिएको हुन्छ।

गाडी नभए मतदाताको घरमा पुगेर नसकिने बेतकुइयाका जगन्नाथ प्रसाद कुर्मी बताउँछन्। उनले भने, हाम्रो चार जनाको समूह छ। तीन दिन लगाएर वडाका सबैलाई छाप लगाउन सिकायौं।’ कुर्मीसँग मतपत्र मात्र होइन, स्वस्तिक छाप र स्ट्याम्प प्याडसमेत छ। रुपन्देहीको ग्रामीण क्षेत्रमा मात्र होइन, बुटवल उपमहानगरपालिका ग्रामीण वडामा समेत मतदाता शिक्षा प्रभावकारी छैन। मतदान कसरी गर्ने भनेर अहिलेसम्म नसिकाएको बुद्धनगरकी सुकमाया सुनार बताउँछिन्। उनी भन्छिन्, ‘पार्टीका आए।

आ-आफ्नो दलको चुनाव चिह्नमा मत हाल्न सिकाए। एक दिनमा तीन÷चार वटा समूह आउँछन््। कसको पो सिक्नु।’ निर्वाचन आयोगले मतदातालाई मत खसाल्नेबारे नसिकाएपछि नमुना मतपत्र छापेर कार्यकर्तालाई गाउँगाउँ पठाएको एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले बताए। उनले भने, ‘हामीले नमुना मतदान गरेका थियौं। ६ सय मत खसेकोमा दुई सय मत प्रदेशसभामा खसेन। समानुपातिकमा कार्यकर्ताले मत नै नखसालेपछि हामीले मतदातालाई सिकाउन थालेका हौं।’

रुपन्देहीको पाँचवटै क्षेत्रमा कांग्रेस र एमालेले १५ लाखभन्दा बढी नमुना मतपत्र प्रयोग गरिसकेका छन्। कांग्रेस क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकले निर्वाचन आयोगले कामै नगरेपछि आफंै मतदाता शिक्षा दिनुपरेको बताए। ‘मेरो क्षेत्रमा एक लाख मतपत्र छापेर घरघर पुग्दै सिकाइरहेका छौं। आयोगको मान्छेले सिकाएका छैनन्’, उनले भने। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीबाट मतदाता शिक्षा सिकाउन ५ सय ९८ कार्यकर्ता खटिएका छन्। जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले ढिलो गरी मतदाता शिक्षा दिने सामग्री आएकाले लक्ष्यअनुरूप काम हुन नसकेको स्विकारे।

उनले भने, ‘गुनासो आएको छ। मतदाता शिक्षा नसिकाउने कार्यकर्तालाई कारबाही गर्छौ।’ रुपन्देहीमा मात्रै मतदाता शिक्षा दिने कार्यकर्तालाई ७८ लाख रुपैयाँ खर्चिएको छ। एउटै जिल्लामा करोडभन्दा बढी रकम मतदाता शिक्षाका लागि खर्च भए पनि उपलब्धि शून्यजस्तै छ। मतदाता शिक्षा कार्यकर्ता सहरी क्षेत्रका केही स्थानमा मात्रै पुगेका छन्। भित्तामा पोस्टर मात्रै टाँसेर हिँड्ने गरेको मतदाता बताउँछन्। ‘अक्षर नचिन्नेले पोस्टर देखेर के गर्नु, छापै लगाएर सिकाए पो बल्ल जानिन्छ’, सेमलारकी हरिकला शर्माले भनिन्। रुपन्देही क्षेत्र नम्बर ३ का प्रदेश उम्मेदवार अशोक बर्माले निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै नदिएको दाबी गरे। ‘घरदैलोमा भोट माग्न जाँदा मत कसरी राख्ने भनेर सोध्छन्। अहिलेसम्म कोही गाउँमा पसेका छैनन्’, उनले भने।
मतदाता शिक्षा दिनका लागि मतपत्र छपाइमा उम्मेदवारले बढी पैसा खर्च गर्नुपरेको उनले बताए। विशेष गरी तराई क्षेत्रका समुदाय र ग्रामीण बस्तीका महिला मतदाता शिक्षादेखि बेखबर छन्। आफैं मत खसाल्न नजाने पनि परिवारका छोराछोरीलाई गुहार्नुपरेको छ। ‘आफंै छाप लगाउनु त मन छ नि जानिँदैन। बिगार्नुभन्दा त छोराछोरी राखेको राम्रो भो नि !’ मोतीपुरकी छन्दकला न्यौपानेले भनिन्।

छाप लगाउन नसिकेकै कारण उनले स्थानीय तहमा पनि अरूकै भर परिन्। मतदाता शिक्षामा निर्वाचन आयोगको लापरबाही भएपछि मतदाता आक्रोशित भएका छन्। निर्वाचन आयोगका कर्मचारीले तलब खाने तर काम नगर्ने गरेको उनीहरूको आरोप छ। देवी नगरका ७४ वर्षीय नरबहादुर थापा पनि अहिले अलमलमा छन्। उनले भने, ‘आजसम्म कसैले पनि मत यसरी राख्नुपर्छ भनेर सिकाएको छैन।’ पहिला-पहिलाका चुनावमा मत हालेका थापाले अहिले धेरै ठाउँमा छाप लगाउनुपर्छ भन्ने थाहा पाएका छन्। उनी भन्छन्, ‘छोराहरूले पनि केही भनेका छैनन्। कसरी मत राख्ने हो थाहा छैन। मत राख्न नजानेपछि किन लाइनमा बस्न जाने ? ‘ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्