Logo

मत दिनका लागि आतुर बन्दै मतदाता



पोखरा, २० मंसिर । मौन अवधिसँगै दलका प्रचारप्रसारका कार्यक्रम बन्द भएका कारण मंगलबारदेखि नै गाउँ शहरका बस्तीको वातावरण सुनसान देखिन्छ ।

बिहीबार हुने निर्वाचनका लागि यसअघि नै मतदान परिचयपत्र लिइसकेका मतदाता आफ्ना परिचयपत्रको जोरजाम गर्दै छन् भने नयाँ परिचयपत्र लिन खोज्नेहरु पनि मंगलबारदेखि मतदान केन्द्रमा लामबद्ध बनेका छन् ।

जिल्लाका ३१७ मतदान केन्द्रमा नै निर्वाचनका लागि कर्मचारी पुगिसकेको कास्की जिल्लामा मंगलबारदेखि नै मतदाता परिचयपत्र वितरण भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन निर्वाचन क्षेत्र भएको जिल्लामा कूल दुई लाख ५५ हजार ४५२ मतदाता सहभागी बन्दै छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचनमा कास्की क्षेत्र नं १ मा रुपा गाउँपालिका र मादी गाउँपालिकासहित पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् । यस क्षेत्रमा निर्वाचनमा ९६ हजार ८४ जना मतदाताले मत हाल्दैछन् ।

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि क्षेत्र नं २ मा ७० हजार ६५१ मतदाता छन् । कास्की क्षेत्र नं २ अन्तर्गत महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २१, २० र ३३ नं वडा पर्छन् ।

त्यस्तै कास्की क्षेत्र नं ३ मा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका साथै महानगरपालिकाअन्तर्गतका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नं वडा पर्छन् । यस क्षेत्रमा ८८ हजार ७१७ मतदाता छन् ।

“अब हामी भोट हाल्ने प्रतीक्षामा छौं,” पोखरा नयाँ बजारका मतदाता सुरेश सुवेदीले भन्नुभयो, “यो हाम्रा लागि सक्षम जनप्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसर हो । अघिल्ला चुनावका तुलनामा दलमा आचारसंहिता पालन गर्ने क्रममा पनि सुधार आएको बताउँदै उहाँले मतदाता शिक्षा प्रदान गर्ने कुरालाई भने आगामी निर्वाचनमा अझै प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

निर्वाचनका लागि मतदाता आफ्नो नामावली भएको स्थानमा फर्कन थालेसँगै केही दिनयता बजार क्षेत्र सुनसान हुँदै गाउँबस्ती भरिन थालेको महानगरपालिका– ३३ का मतदाता गुरुप्रसाद पौडेलले बताउनुभयो ।

“ भोट दिनका लागि देशविदेशबाट दाजुभाइ आउने क्रम पनि बढेको छ,” उहाँले भन्नुभयो, “अब सर्वसाधारण केवल मतदानको पर्खाइमा छन् ।”

मतदानको व्यवस्थापनका लागि निर्वाचन कर्मचारीको संयोजनमा निर्वाचनलाई भव्य र सभ्य बनाउन सर्वदलीय बैठक पनि भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्