Logo

उमंगबिनाको जित



काठमाडौं २६ मंसिर । विजय घोषणाको प्रमाणपत्र बुझेपछि उनी केही बोल्न खोज्दै थिइन् । तर दुई/चार शब्द नबोल्दै उनको आँखाबाट आँसु झर्न थाल्यो । ‘आज जितेर पनि खुसी हुन सक्ने अवस्था छैन,’ सोमबार कञ्चनपुर प्रतिनिधिसभा क्षेत्र नं. १ को निर्वाचन परिणाम घोषणापछि निर्वाचित बिना मगरले रुँदै भनिन्, ‘यस्तो खुसीको क्षणमा पनि मेरो जीवनसाथी मसँग नहुँदा दु:खी छु ।’

चुनावी प्रचारप्रसारकै क्रममा आफ्नो निर्वाचन क्षेत्रमा रहेका बेला मंसिर दोस्रो साता उनका श्रीमान् प्रकाशको हृदयाघातका कारण मृत्यु भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको आकस्मिक मृत्युपश्चात् उनले राम्ररी प्रचार–प्रसार पनि गर्न सकेकी थिइनन् । मौन अवधि सुरु हुनुभन्दा दुई/तीन दिनअघि मात्रै उनी काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र फर्केकी हुन् ।

‘यो जितमा खुसी भएर पनि प्रकाश नहुँदा हाँस्न सकिरहेकी छैन,’ उनले भनिन् । उनीसँगै प्रचारमा जुटेका र चुनाव जितेका वाम गठबन्धनका नेता कार्याकर्ता अबिर लगाएर रंगीचंगी भएका थिए । तर उनका लागि भने यो जित रंगविहीन हुन पुग्यो । सेतो सल ओढेर मतपरिणाम घोषणा सभामा उपस्थित भएकी बिनाले टीका तथा अबिर केही लगाइनन् ।

आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारभन्दा दोब्बरबढी मत ल्याएर बिनाले चुनाव जितेकी हुन् । उनले ३८ हजार ४ सय ६७ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत ल्याए । ०७० को संविधान सभा निर्वाचनमा उनी विष्टसँग झिनो मतले पराजित भएकी थिइन् ।

प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभामा पुग्ने उनी प्रदेश ७ कै पहिलो महिला हुन् । ‘कञ्चनपुरकी चेली पहिलो पटक निर्वाचित भएर प्रतिनिधिसभामा पुगेकी छ,’ उनले भनिन्, ‘मलाई जिताउने मतदाताको सम्मानसँगै यस क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि काम गर्नेछु ।’ उनले पति वियोगका कारण आफू जिल्लामा नभएका बेला समेत प्रचारमा जुट्ने गठबन्धनका नेता, कार्यकर्ता र मतदातालाई निराश हुने गरी कुनै काम नगर्ने बताइन् ।

२०५० देखि काठमाडौंमा पढदादेखि नै उनी राजनीतिमा लागेकी हुन् । २०५३ मा आरआर क्याम्पसमा उनी स्ववियु सभापतिसमेत भइन् । सशस्त्र द्वन्द्व चर्किंदै गएपछि सुरक्षाकर्मीले उनलाई २०५८ मा गिरफ्तार गरी २७ महिना भैरवनाथ गणमा राखेको थियो । प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । प्रदेश ‘क’ बाट एमालेका जिल्ला अध्यक्षसमेत रहेका तारा लामा तामाङ र ‘ख’ बाट पनि एमालेकै कुलवीर चौधरी विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot