Logo

अहिलेसम्मको गणनामा ३ प्रतिशत कटाउने ४ दल मात्रै



काठमाडौं २७ मंसिर ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६१ स्थानमा राप्रपाका राजेन्द्र लिङदेनसहित वाम गठबन्धनले १ सय १३ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी ४ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।

एमालेले ७७, माओवादीले ३६, राष्ट्रिय जनमोर्चाले १ र राप्रपाले १ स्थानमा जितेका छन् । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस २२ सिटमा सीमित छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् ।

कैलाली–२, स्याङ्जा–१ र २ तथा सुनसरी–३ को मतगणना जारी छ । सुनसरी–३ मा कांग्रेस नेता विजयकुमार गच्छदार एमालेकी भगवती चौधरीभन्दा २ सय हाराहारी मतले पछाडि छन् । त्यस्तै, स्याङ्जा–२ मा कांग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा करिब १ हजार ५ सय मतले पछाडि छन् । स्याङ्जा–१ मा एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले कांग्रेस उम्मेदवार राजु थापालाई ९ हजारभन्दा बढी मतले उछिनेका छन् । कैलाली–२ मा एमाले उम्मेदवार झपटबहादुर रावल कांग्रेस उम्मेदवार मोहनसिंह राठौरभन्दा २ हजार ६ सय मतले अगाडि छन् ।

समानुपातिकतर्फ मंगलबार साँझ ७ बजेसम्म ४१ लाख २५ हजार १ सय ४९ मतगणना भएकामा एमालेले १५ लाख ८ सय ५५ मत ल्याएको छ । त्यो अहिलेसम्मको गणनाको ३६ प्रतिशत हो । कांग्रेसले १४ लाख १० हजार ४ सय ५१ मत ल्याएको छ जुन ३४ प्रतिशत हो । माओवादीले ५ लाख ९७ हजार ७ सय २२ मत (१४ दशमलव ४८ प्रतिशत) ल्याएको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम नेपालले मत ल्याएको छ । उक्त पार्टीले ल्याएको १ लाख ४१ हजार ३ सय ७८ मत (३ दशमलव ४२ प्रतिशत) हो । करिब आधा मत गणना भइसक्दा चार पार्टीले मात्रै गणना भएको मतको ३ प्रतिशत कटाएका छन् ।

राप्रपाले ९३ हजार ५ सय २१, विवेकशील साझा पार्टीले ९१ हजार २ सय ६५, राष्ट्रिय जनता पार्टीले ८५ हजार ३ सय ९६ मत ल्याएका छन् । यी तीनै पार्टीले गणना भएको मतको २ प्रतिशतभन्दा बढी ल्याएका छन् । यस्तै, नयाँ शक्ति पार्टीले ४६ हजार ४ सय २१, राप्रपा (प्रजातान्त्रिक) ले ३० हजार ८ सय ३८, राष्ट्रिय जनमोर्चाले ३० हजार २ सय २१ मत पाएका छन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्