Logo

पर्यटकीय गन्तव्य छादी झरना ओझेलमा



पाल्पा, ३ पुस । पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङगस्थित पर्यटक आकर्षणको गन्तव्य रहेको छादी झरना अझै पनि ओझेलमा रहेको छ ।

स्थानीय बासिन्दाको पहल नहुनु र प्रचारप्रसारको अभावले पर्यटकीय गन्तव्यका रुपमा महत्व बोकेको यस झरना जिल्ला तहमा समेत प्रचार हुन सकेको छैन । सय मिटरभन्दा माथिबाट झरनामा पानी झरिरहेको दृश्यले सबैको मन लालयित बनाउन सफल रहेको झरना अझै ओझेलमा रहेको हो ।

चमेरा प्रजातिको स्तनधारी चरा बाँस बस्नाले छादी क्षेत्रमा अझै प्राकृतिक हिसाबले रमणीय बन्दै गएको छ । छादी झरना र गुफाभित्र विभिन्न आकृतिमा मूर्ति धार्मिक पर्यटकलाई आकर्षित बनाउछ । तर, त्यसको प्रचारप्रसारमा अझै कोही नजुट्दा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको यस क्षेत्र ओझेलमा परेको स्थानीय बासिन्दा सूर्य दर्जीले बताउनुभयो

चिन्ते सामुदायिक वन क्षेत्रभित्र रहेको झरना नजिकै गुफामा देवीदेवताको मूर्ति र गुफाको माथिल्लो भागमा चमेरा फैलिएर यस क्षेत्र हेर्नलायकको पर्यटकीय गन्तव्य हो ।

रामपुर क्षेत्रका स्थानी बासिन्दा तथा विद्यालयका शिक्षक, विद्यार्थी झरना र गुफा क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढ्न थालेकाले यस क्षेत्रमा भौतिक संरचना निर्माणमा स्थानीयवासीले चासो देखाउन थालेका हुन । तर पनि भौतिक संरचना निर्माण हुन सकेको छैन ।

कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुरस्थित छादीको सडकदेखि दश पन्ध्र मिनेट पैतल हिँडेपछि गुफा र छहरा रमणीयस्थलमा भेटिन्छ । चिन्ते सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण गर्न थालेपछि यस क्षेत्र हराबरा बन्दै गएको हो ।

एकान्तमा रमाउनेको लागि यो क्षेत्र झनै आन्ददायी क्षेत्र बनेको छ । सानोे गोरेटो हँुदै छादीमा पुग्न सकिने स्थानीय बासिन्दा बताउँछन् ।

मानिस गुफाभित्र पसेर उज्यालोको सहायताले गुफामा रहेका विभिन्न आकृतिका मूर्ति, चमेरा हेर्न र अर्को झरना भएको द्वारबाट बाहिर निस्कन सकिने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot