Logo

छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छः प्रधानन्यायाधीश पराजुली



काठमाडौँ, ३ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ । न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो ।

न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्थाअनुसार काम गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवालगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई आग्रह गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जनताको आस्थाको धरोहरका रुपमा रहेको न्यायालयबाट छिटो र सहज न्याय पाउने तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले परिषद्ले नेपालको संविधानअनुरुप काम गरिरहेको उल्लेख गर्दै नेपालको इतिहासमा पहिलोपटक खुल्ला परीक्षाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको बताउनुभयो ।

नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले गलत काम गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार भएको परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न आग्रह गर्नुभयो । उहाँले ८० प्रतिशतभन्दा बढी न्यायाधीश खुल्ला प्रतियोगिताबाट नियुक्ति गर्नु राम्रो कुरा भएको बताउनुभयो ।

सो अवसरमा परिषद्ले प्रकाशन गरेको न्याय परिषद्को वार्षिक बुलेटिन प्रधानन्यायाधीश पराजुलीले सार्वजनिक गर्नुभयो । परिषद्को स्थापना २०४७ साल पुस ३ गते भएको थियो । स्थापनादेखि नै पुस ३ गते स्थापना दिवस मनाउँदै आइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot