Logo

खानाको विषयमा म्यादी प्रहरीको आन्दाेलन



काठमाडौं ४ पुस । निर्वाचनका लागि दोलखामा भर्ती भएका म्यादी प्रहरीले जागिरको अवधि सकिन लाग्दा खान्कीको विषयमा आन्दाेलन गरेका छन् । एउटै भान्सामा पाकेको खानालाई जनपद प्रहरीलाई भन्दा प्रतिछाक करिब २५ रुपैयाँ भन्दा बढी लिएको भन्दै आन्दाेलन गरेका हुन् । खानामा बढी पैसा तिर्नुपरेको दावी गर्दै उनीहरुले नाराबाजी गरेर प्रहरी घेरा तोड्दै बजार परिक्रम गरेका थिए । प्रहरीले नियन्त्रण गर्न खोज्दा केही म्यादी प्रहरी घाइतेसमेत भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले मेस सञ्चालकले खानाको हिसाब काट्दा बुझाउन नसकेकाले म्यादी प्रहरीले आपत्ति प्रकट गरेको बताए । उनीहरुको गुनासो सुन्नासाथ जनपद प्रहरीलाई भन्दा सस्तो दरमा खानाको हिसाव कटाउन लगाएको उनले बताए ।

दोलखा प्रहरी कार्यालयभित्र मेस कोट मास्टरले चलाउँछन् । जिल्ला प्रहरी मेसमा खाना खानेबीचको सहमतिमा प्रतिछाक ७० रुपैयाँ निर्धारण गरिएको छ । तर म्यादीलाई भने ९५ रुपैयाँ कटाएकाले सडकमा उत्रनु परेको एक म्यादी प्रहरीले गुनासो गरे ।

‘उनीहरुले खाएको दिन गन्तीको हिसाब मिलाउदा ७० हैन प्रतिछाक ६५ रुपैयाँ मात्र पर्छ,’ डिएसपी कार्कीले भने । दोलखामा कात्तिक ११ गतेदेखि सातसय ५५ जना म्यादी प्रहरी भर्ती गरिएको थियो । उनीहरुलाई माघ ७ गते बिदा गरिंदै छ । चुनावमा खटिंदा सम्बन्धित चौकी वा अन्यत्र खाना खाएका म्यादीले बाँकी दिन जिल्ला प्रहरी कार्यालयभित्रको मेसमा खाना खाएका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot