Logo

स्थानीय तह/कामै नगरी सकियो आधा वर्ष



काठमाडौं ५ पुस ।
लामो समयदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले ६ महिनाअघि नेतृत्व पाए । यसअघि कर्मचारीका भरमा मात्र चलेकाले विकासका काम हुन नसकेको गुनासो व्यापक थियो । तर, प्रतिनिधि आउँदा पनि सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने खालका काम भएको देखिँदैन । कतिपय स्थानमा दलबीच विवादका कारण नियमित कामै अघि बढ्न सकेको छैन । विवाद र प्रतिनिधिबीच बेमेलले गाउँ/नगरपरिषद्समेत हुन सकेको छैन ।

दलीय दम्भको चेपुवा

झापाको गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका ‘दलीय दम्भ’ का कारण अनिर्णयको बन्दी बनेका छन् । नगर/गाउँ परिषद्सम्म हुन सकेको छैन । दुवै तहमा नेतृत्व र बहुमत भिन्नाभिन्नै दलको छ । गौरादह नगर प्रमुखमा कांग्रेसका रोहितकुमार साह छन् । ९ वडा रहेको नगरमा उपमेयरसहित बहुमत सदस्य एमालेका छन् । गौरीगञ्जको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराजा श्रेष्ठ छन् । ६ वडा रहेको गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य कांग्रेसका छन् ।

अधिकारसम्पन्न भए पनि बहुमत जुटाउन नसक्दा दुवै तहका प्रमुखलाई आफ्नो निर्णय पारित गराउन अवरोध आउने गरेको छ । एमाले गढ मानिएको गौरादहमा पहिलोपटक कांग्रेसले प्रमुख जितेपछि नगरको पहिलो बैठक बस्नै सकस परेको थियो । बहुमत रहेका एमाले जनप्रतिनिधि उपस्थित नभएपछि प्रमुखले बोलाएका बैठक केही समय स्थगित भए ।

लामो प्रयासपछि पहिलो बैठक बस्यो । तर नगरपालिका सञ्चालनसम्बन्धी नियमावली र कार्यविधि बनाउन लामै रस्साकसी गर्नुपर्‍यो । कार्य सञ्चालनसम्बन्धि नियमावलीको मस्यौदामा सहमति जुटाउन दुई महिनाभन्दा बढी समय खेर गयो । त्यसपछि गठन गर्नुपर्ने ६ वटा विषयगत समितिमा विवाद केन्द्रीत भयो ।

नगरप्रमुख साहले कांग्रेस र एमालेले समान ३ वटाका दरले नेतृत्व पाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, एमालेका जनप्रतिनिधिले उनको प्रस्ताव ठाडै अस्वीकार गरे । दुवै पक्षले अडान नछाडेपछि विवाद दुई महिना लम्बियो । अन्तिममा एमालेले ४ र कांग्रेसले २ वटा समितिको नेतृत्व गर्ने सहमति जुट्यो । कांग्रेसले पूर्वाधार विकास समिति पाउने भएपछि मात्रै मञ्जुरी जनाएको हो ।

हरेकजसो निर्णय विवादित बन्न थालेपछि नगरवासी निराश बनेका छन् । विवादकै कारण पुस ५, ६ र ७ गते गर्ने भनिएको नगर परिषद पनि स्थगित भएको छ । प्रमुख साहले पुस मसान्तभित्र परिषद सक्ने गरि गृहकार्य भइरहेको बताए । ‘अहिलेकै अवस्थामा भन्नुपर्दा नगरपालिकाले हामी नगरवासीका लागि केही गर्लाजस्तो लाग्दैन’ स्थानीय दीपक सुवेदीले भने, ‘नगरपालिकाको प्रत्येक निर्णय विवादित बन्छ । के होला भन्ने आश गर्नु ?’ उनले कांग्रेस र एमालेबीचको बहुमत र अल्पमतको चेपुवामा नगरवासी परेको बताए ।

नगरप्रमुख र उपप्रमुखले भने दलीय विवादको कुरा अस्विकार गरे । प्रमुख साह र उपप्रमुख गीता भेट्वालले एकै स्वरमा भने ‘हामीबीच त्यस्तो कुनै विवाद छैन ।’ उपप्रमुख भेट्वालले सुरुमा केही असजिलोजस्तो देखिए पनि अहिले त्यस्तो नरहेको बताइन ।

‘६ महिनासम्म केही गर्न नसकेकै हो,’ उनले भनिन, ‘जिम्मेवारी लिएलगत्तै बाढी आयो, त्यसको व्यवस्थापन गर्दागर्दै दसैं, तिहार आयो, पर्व सकिएलगत्तै फेरि अर्को चुनाव आयो । यस्तैयस्तै कारणले जनताको चाहनाअनुसार काम गर्न पाएका छैनौं ।’ साहले नगरपालिकाभित्रका बाटोका खाल्डाखुल्डी पुर्ने, बाढी पीडितलाई उद्दार र राहत दिनेजस्ता काम गरेको बताए ।

गौरीगञ्जमा साउन २७ गते आयोजना गरिएको गाउँपरिषद भाँडियो । कांग्रेसका प्रतिनिधि वर्षा र बाढीको कारण देखाउदै उपस्थित भएनन् । तर, सोही दिन कांग्रेस जनप्रतिनिधिले छुट्टै भेला गरेका थिए । गाउँपालिकाको १४ सदस्यीय गाउँ कार्यपालिकामा उपाध्यक्षसहित ११ जना कांग्रेस प्रतिनिधि छन् । अध्यक्ष राप्रपा, दुई जना वडाध्यक्ष एमाले र माओवादीका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्