Logo

कर्णालीमा छोरातिहारको रौनक



काठमाडौं ६ पुस ।
भाइतिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरातिहार मनाएका छन् । प्रत्येक वर्ष पुस शुक्ल द्वितीयाका दिन जुम्ला र डोल्पाका बासिन्दाले छोरातिहार धुमधामका साथ मनाउने गर्छन् ।

भाइटीकाजस्तै छोरातिहारमा आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनको रूपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार दिने गर्छिन् । टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामनासहित आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई सगुनका रूपमा पैसा, कपडालगायत उपहार दिएर टीका थाप्छन् । छोरातिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर–घर तथा गाउँबस्तीमा भैलो खेल्छन् ।

पुरुष मात्रै होइन, यहाँका महिलाले पनि सार्वजनिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पिरव्यथा साटासाट गर्ने त्रिपुरासुन्दरी–१ का रविप्रसाद न्यौपानेले बताए । ‘यो भैलो तिहारको देउसीभन्दा फरक ढंबाट र फरक लयमा खेलिन्छ,’ उनले भने । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाले मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेको उनले बताए । छोरातिहारमा आमा नहुनेहरू भने मन्दिरमा गएर पुजारीको हातबाट टीका लगाउने गर्छन् ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot