Logo

अझै अन्धकार छ बाह्रदशी, उज्यालो गापाका लागि करोड बजेट



झापा, ६ पुस । देशकै सुगम जिल्लामध्येको जिल्ला हो– झापा । तर, यो जिल्लाका धेरै ठाउँमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौँ सर्वसाधारण वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य छन् ।

त्यसमा पनि बाह्रदशी गाउँपालिकाको दक्षिणी भेगका सर्वसाधारणको विद्युत् सेवा उपयोग गर्ने सपना सपनामै सीमित छ । बाह्रदशी गाउँपालिका वडा नं १ मा रहेको भागुडुब्बा बजारमा विद्युत् सेवा नपुग्दा यहाँका सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् । भागुडुब्बा बजार मात्र होइन सोही वडाका एक हजार २०० घर परिवारमध्ये झण्डै एक हजार परिवार वर्षौंदेखि विद्युत् सेवाविहीन छन् ।

पूर्व श्रम तथा यातायात व्यवस्था सहायकमन्त्री टेकनारायण राजवंशीको गाउँ हो– भागुडुब्बा । उहाँ राज्यमन्त्री हुँदा यहाँका अधिकांश सर्वसाधारणले विद्युत् विस्तारका लागि धेरैपटक आग्रह गरेका थिए । तर मन्त्री राजवंशीले आफ्नै ठाउँमा विद्युत् विस्तार गर्न नपाउँदै छ महिनामै पद मुक्त हुनुभयो ।

त्यस्तै, नेपाली काँग्रेसका नेता केशवकुमार बुढाथोकी तत्कालीन झापा क्षेत्र नं ५ बाट दुई÷दुई पटक संसद्मा निर्वाचित हुँदै सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभयो । उहाँ मन्त्री हुँदा यहाँका सबैले पहिलो प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्न माग गरे । तर, तत्कालीन मन्त्री बुढाथोकीले भागुडुब्बावासीको माग पूरा गर्न नसक्दा उनीहरु अझै पनि अन्धकारमा बस्न बाध्य छन् ।

बाह्रदशी गाउँपालिकाको वडा नं २ को पनि अवस्था उस्तै छ । वडा नं २ का अझै १०० भन्दा बढी घर अर्थात सिङ्गो मोटापानी गाउँमा विद्युत् सेवा पुग्न सकेको छैन । मोटापानी गाउँँ राजगढ बजार पश्चिमको गाउँ हो । बजारबाट झण्डै एक किलोमिटर दूरीमा योे गाउँ रहेको छ । यहाँका सर्वसाधारण अझै विद्युत् सेवाविहीन रहेको वडाध्यक्ष यादव मिश्रले बताउनुभयो ।

त्यस्तै वडा नं ३ मा पनि झण्डै ६० देखि ८० परिवार विद्युत् सेवाविहीन रहेको वडा अध्यक्ष वीरेन्द्र राजवंशीले बताउनुभयो । उहाँले आफ्नो वडामा विद्युत् विस्तारका लागि ३ सय देखि ४ सय विद्युत् पोल आवश्यक पर्ने बताउनुभयो ।

यता वडा नं ४ मा पनि सबै क्षेत्रमा विद्युत् विस्तार भइनसकेको बताउनुहुन्छ – वडाध्यक्ष समिम मियाँ । उहाँ भन्नुहुन्छ – साविक चकचकी–१ को केही भाग र वगान एरियामा विद्युत् विस्तार हुन सकेको छैन । विद्युत् सेवाविहीन सन्थाल समुदायका धेरै छन् ।

बाह्रदशी–५ मा १५० भन्दा बढी घरपरिवार विद्युत् सेवाविहीन छन् । वडाध्यक्ष भूपेन्द्र कटुवालका अनुसार सन्थाल बस्ती, बद्री गाउँ, मुन्सी बगानलगायतका स्थानमा बसोबास गर्ने अधिकांशले विद्युत् सेवा उपयोग गर्न पाएका छैनन् । वडा नं ६ का अध्यक्ष रत्नप्रकाश योङ्हाङका अनुसार सो वडामा अझै पनि २०० घर परिवार विद्युत् सेवाविहीन छन् ।

विद्युत् सेवा उपयोग गर्न नसक्नेमा आदिवासी जनजाति बढी रहेका छन्– अध्यक्ष योङ्हाङले भन्नुभयो – यो आर्थिक वर्षभित्र सबैको घरमा विद्युत् सेवा पुग्छ । अछुतो छैन, बाह्रदशी–७ पनि । बाह्रदशी–७ को बत्तीसविगाह एरियामा विद्युत् सेवा पुग्न नसक्दा त्यहाँका सर्वसाधारण विद्युत् सेवाबाट वञ्चित छन् । वडाध्यक्ष मित्रराज भट्टराईका अनुसार वडा नं ७ मा थोरै संख्यामा मात्र विद्युत् सेवा पुग्न सकेको छैन ।

अध्यक्षकै घरमा छैन बिजुली

बाह्रदशी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ – खड्गप्रसाद राजवंशी । उहाँको घर बाह्रदशी गाउँपालिका वडा नं २ मोटापानीमा रहेको छ । उहाँ अझै पनि विद्युत् सेवाविहीन हुनुहुन्छ । उहाँ मात्र होइन, उहाँको सिङ्गो मोटापानी गाउँमा अझै विद्युत् सेवा विस्तार हुन सकेको छैन । वडा नं १ का अध्यक्ष शम्भुसिंह राजवंशी पनि विद्युत् सेवाविहीन हुनुहुन्छ । उहाँ भागुडुब्बा निवासी हुनुहुन्छ ।

उज्यालो बाह्रदशीका लागि एक करोड

बाह्रदशी गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको छ– विद्युत् सेवा विस्तार । सबैको घरमा यही आर्थिक वर्षभित्र विद्युत् सेवा पु¥याउने लक्ष्यसहित गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान नै सञ्चालन गरेको छ ।

यसका लागि गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गर्दै लगत संकलनमा जुटेको बताउनुहुन्छ – गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी । उहाँ भन्नुहुन्छ – यही महिनाभित्र लगत संकलन गरी विद्युत् विस्तारको काम शुरु हुन्छ । हाम्रो पहिलो प्राथमिकता भनेकै सबैका घरमा विद्युत् सेवा पु¥याउनु हो ।

उज्यालो बाह्रदशीका लागि सार्वजनिक स्थानमा समेत सोलार जडानका लागि ३०० वटा सोलार बत्ती खरिद गरिँदैछ । विपन्न वर्गका घरमा निःशुल्क विद्युत् जडान गर्न गाउँपालिकाको सहयोग रहन्छ– अध्यक्ष राजवंशीले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्