इलाम, ९ पुस । इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गर्नुभएको छ । पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उहाँले जग्गा दान गर्नुभएको हो ।
स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताउनुभयो । समितिका सल्लाहकार किशोर कार्कीले रु १५ लाख मूल्य बराबरको जग्गादान गरेको बताउनुभयो ।
उहाँले मालपोत कार्यालयमार्फत समितिको नाममा सो जग्गा पास गरिसक्नुभएको छ । आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्यको काम गरिएको गोविन्दले बताउनुभयो ।
सो जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताउनुभयो । पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४०० जना लाभान्वित हुनेछन् ।
मैनालीले हत्याको आरोपमा बिनाकसुर जापानको जेलमा १४ वर्ष बिताउनुभएको थियो । चौध वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरी क्षतिपूर्तिको रकम भराएको थियो । रासस