Logo

तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप



काठमाडौं १४ पुस ।  रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको तस्बिरले देखाएका छन् । भुइँचालोले मन्दिरमा क्षति पुगेपछि यसलाई महानगरले आधुनिकीकरण गर्न खोज्यो । त्यही कारण अहिले चर्चामा छ- रानीपोखरी । यसमा कसरी र के कस्ता परिवर्तन आए ?

रानीपोखरीको सबैभन्दा पुरानो एउटा चित्र सार्वजनिक भएको छ। यो चित्रले रानीपोखरीको धेरै स्वरुप परिवर्तन भएको देखाउँछ। रानीपोखरीको यो चित्र पर्सियाका राजकुमारको भ्रमणको समयमा बनाइएको रहेछ। सन् १८४४ देखि १८४६ सम्म भारत हुँदै नेपालको भ्रमण गरेका रहेछन् राजकुमार वल्डेमरले। जर्मनीको एक पत्रिकाले जनाएअनुसार आफूसँग थुप्रै कलाकार साथै आएका थिए। भ्रमण दलका एक चित्रकारले बनाएको रानीपाखरीको चित्र जर्मनीको एउटा पत्रिकामा छापिएको रहेछ।

भुइँचालोले भत्काउनुभन्दा अघि रानीपोखरी बीचको यमलेश्वर महादेवको मन्दिरको शैली र यो चित्रमा भएको यमलेश्वर मन्दिरको शैली फरक छ। भुइँचालोले भत्कनु अघि यो मन्दिर गुम्बज शैलीमा थियो। पर्सियाका चित्रकारले बनाएको चित्रमा चाहिँ शिखरशैलीमा देखाइएको छ। शिखरशैलीको मन्दिर भएको यो चित्र कैलाश जर्नलमा पनि छापिएको थियो।

कसरी परिवर्तन भयो मन्दिरको शैली? संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार राणाहरुले नियोजित रुपमा काठमाडौंका मौलिकता शैली मासे। मन्दिर, भवनलगायतमा पश्चिमी शैली अपनाए। त्यसैको सिकार रानीपोखरी पनि भयो। शिखरशैली मासेर यसलाई मुगल शैलीमा ढालियो।  कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्