Logo

कांग्रेसमा पौडेल पक्ष आक्रमक, देउवा रक्षात्मक



काठमाडौं १५ पुस ।
समानुपातिक सांसद छनोटलाई लिएर कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद चर्किएको छ । दिनभरको चर्को विवादका बीच शुक्रबार राति करिब १० बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाई निर्वाचन आयोगमा सूची बुझाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्टि जनाउँदै ‘माइन्युट’ मा हस्ताक्षरसमेत नगरी बैठकबाट बाहिरिएका थिए ।

पौडेलका साथै कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य बलबहादुर केसीले हस्ताक्षर नगरेका हुन् । बैठक निर्वाचनमा पार्टी पराजय भएको विषयलाई पन्छाउँदै समानुपातिक सांसद छनोटबारे केन्द्रित भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले बैठक सुरु हुनासाथ निर्वाचनको समीक्षाका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने भन्दै प्रदेशसभातर्फको समानुपातिक सांसद छनोटतर्फ बैठकलाई मोडेका थिए ।

निर्वाचनमा पार्टीको लज्जास्पद हारपछि विशेष महाधिवेशन बोलाउन माग भइरहेका बेला पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । बिहानैदेखि बसेको बैठकमा समानुपातिक प्रदेश सदस्य छनोट गर्ने विषयमा लामो विवाद भएको थियो । सदस्य छनोटका लागि बनाइएको मापदण्डविपरीत पार्टी संस्थापन पक्षले असन्तुलित ढंगबाट समानुपातिक सांसद छनोट गर्न लागेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको थियो ।

निर्वाचन आयोगले दिएको समयसीमा ३ बजेअघि नै कांग्रेसले उम्मेदवारबिनाको पत्र मात्रै बुझाएको थियो । बालुवाटारमा सांसद छनोट गर्ने विषयमा राति अबेरसम्म संस्थापन पक्ष र पौडेल पक्षबीच चर्काचर्की परेको थियो । पौडेल पक्षले समानुपातिक सूची बुझाउँदा आफ्ना पक्षलाई तल पारिएको भन्दै असन्तुष्टि जनाएका थिए । कानुनमा यथासम्भव क्रमानुगत आधारमा समानुपातिक सदस्य छनोट गर्नुपर्ने व्यवस्था छ । पौडेल पक्षले यथासम्भव भन्नुको अर्थ केही तलमाथि गर्न सकिने आसमा थियो । तर, आयोगले पत्र पठाएरै राजनीतिक दललाई क्रमानुगत नम्बरका आधारमा सदस्य छनोट गर्न भनेपछि पौडेल पक्ष संस्थापन पक्षको व्यवहारप्रति असन्तुष्ट भएको हो ।कान्तिपुरम खबर छ ।

‘एउटा पक्षलाई किनारामा नै पार्ने काम गरियो,’ पौडेलनिकट एक सदस्यले भने, ‘केन्द्रीय कार्यसमिति बैठकले एकपटक समानुपातिक सुविधा लिइसकेकालाई नदोहोर्‍याउने निर्णय गरे पनि संस्थापन पक्षले एउटै व्यक्तिलाई तीनपटकसम्म समानुपातिक सांसदमा ल्याउने काम गरेको छ ।’ देउवानिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने क्रमागत नम्बरकै आधारमा क्लस्टर छुट्याएर प्रदेशसभा सदस्यको सूची बुझाइएको प्रतिक्रिया दिउँसै दिएका थिए, उनले सूची बुझाएको बताउँदा बालुवाटार बैठकमा भने सदस्य छनोटका लागि विवाद चलिरहेको थियो । महतले निर्वाचन समीक्षाका लागि पछि छुट्टै बैठक बस्ने भनिएकाले त्यतातिर छलफल नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्