Logo

कांग्रेसका युवा नेताले भने– ७० कटेका नेताले विश्राम लिनुपर्छ



काठमाडौं १६ पुस ।
कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् ।

निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् । नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।

निर्वाचन परिणाम आएलगत्तै भण्डारीको संयोजनमा युवाको समूहले निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरण मुद्दा उठाउन विशेष महाधिवेशन माग गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन होइन, केन्द्रीय कार्यसमिति बैठक मात्रै बोलाउने बताएका छन् । ‘नेपालीको एभरेज आयु ७० वर्ष छ । तर हाम्रा नेताको उमेर ७२/७४ पुगिसक्यो । आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन्,’ भण्डारीले भने, ‘समयअनुसार चल्न नसक्ने यी नेतालाई अब बिदा गर्नुपर्छ ।’

पार्टीले लज्जास्पद पराजय भोग्दा पनि नेतृत्वमा होस नखुलेको भण्डारीले बताए । शुक्रबार नै समानुपातिक सदस्य छनोट गर्ने क्रममा पार्टी विधान र पद्धति मिचेर नेतृत्वले छोरीलाई दाइजो दिएजस्तो व्यवहार गरेको भन्दै उनले आपत्ति प्रकट गरे । ‘जसले आफ्नो इतिहास जोगाउन सकेन, त्यस्ता नेताबाट हामीले के आशा गर्ने ?’ भण्डारीले थपे, ‘समानुपातिक पद्धति दाइजो हो कि न्याय गर्नका लागि ल्याइएको हो ?’

युवा नेता गगन थापाले कांग्रेसको नवजागरणका लागि पहिलो पुस्ताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘यो नेतृत्वप्रति अनुदार होइन । पार्टीको पहिलो पुस्तालाई योभन्दा बढी भारी बोकाउनु उहाँहरूप्रति पनि अन्याय हो,’ थापाले भने, ‘अब विश्राम लिनुहोस् र अभिभावकको भूमिकामा बस्नुहोस् ।’ यसो भन्नुको अर्थ आफैंले पार्टी नेतृत्व गर्न पाउनुपर्ने दृष्टिकोण आफ्नो नरहेको थापाले प्रस्ट पारे । ‘५ वर्षपछि फेरि चुनाव आउँछ, त्यतिबेला कांग्रेसलाई पहिलो पार्टी बन्न थप १७ लाख मतदाता ल्याउनुपर्छ,’ उनले भने, ‘हामीलाई पदाधिकारी र नेतृत्व केही चाहिएको छैन । क्रियाशील सदस्यता भएरै काम गर्न तयार छौं । तर तपाईंहरू (पार्टी नेतृत्वमा रहेको पहिलो पुस्ता) अभिभावक भएर बस्ने हो कि होइन ?’

उनीहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा सरकारले गरेको नकारात्मक काम बढी जिम्मेवार रहेको बताए । पूर्वप्रधानन्यायाधीश सुशील कार्कीविरुद्धको महाअभियोग, प्रहरी महानिरीक्षक प्रकरण, विवादास्पद व्यक्तिलाई राजदूत बनाउने निर्णयलगायतका सरकारका गलत कामकारबाहीले मतदाता भडकिएको उनीहरूको निष्कर्ष छ । भारतले लगाएको नाकाबन्दीका विषयमा पार्टीले केही नबोलेको र राष्ट्रियताको सवालमा कांग्रेसको दृष्टिकोण प्रस्ट नभएकै कारण पार्टी कमजोर हुन पुगेको उनीहरूले बताए ।

‘कांग्रेसबारे एमाले अध्यक्ष केपी ओलीले धेरै भनिदिनुभयो । तर हामीले होइन भनेर भनेनौं,’ थापाले भने, ‘ओलीले के भने भन्दा पनि हामीले के भन्यौं भन्ने कुरा महत्त्वपूर्ण थियो । तर, कांग्रेसले आफ्नाबारे भन्नै सकेन ।’

रायमाझीले भारतले लगाएको नाकाबन्दीबारे कांग्रेस केन्द्रीय समितिले विज्ञप्तिसमेत निकाल्न नसक्नु दुर्भाग्य रहेको बताए । उनले नेपालका कम्युनिस्ट नेताहरू महेन्द्रका अवशेष रहेका बताउँदै त्यसलाई चिरेर अघि बढ्न नसक्दा कांग्रेसले यस्तो हविगत व्यहोरेको बताए । कांग्रेसको सुधारका लागि युवाले चालेको अभियानबाट आत्तिएर पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले आफ्नो बचाउमा केही नेतालाई अघि बढाइएको भन्दै उनले त्यो दुर्भाग्यपूर्ण रहेको बताए । ‘विशेष अधिवेशन बोलाए पनि तपाईंलाई (देउवा) हटाउने कोही हुने छैनन्, कांग्रेसको सुधारको माग गर्दा देउवा कहाँनेर कमजोर हुन्छन्,’ उनले भने, ‘यसले त कांग्रेसलाई सुधारकै बाटोमा लैजान्छ ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनको समीक्षाका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने बताए । ‘केन्द्रीय कार्यसमितिदेखि महाधिवेशनको बैठकसम्म जानुपर्दछ, महाधिवेशन बोलाउनासाथ नेतृत्व छाड्नुपर्छ कि भन्ने भय नेतृत्वले लिनुभएन,’ उनले भने, ‘पार्टीलाई लोकतान्त्रिक भन्ने तर पद्धति र प्रक्रिया हेर्‍यो भने जनवादी केन्द्रीयताको विकास हुँदै गएको छ ।’

पौडेलले सरकारको गलत कामकारबाही र गुटबन्दीका आधारमा टिकट वितरण गर्दा नै पार्टीले लज्जास्पद हार व्यहोरेको बताए । ‘जित्नेलाई नभएर जितेपछि आफूलाई सहयोग गर्छ भन्ने आधारमा उम्मेदवार बनाइयो,’ पौडेलले भने, ‘नेपालको इतिहासमै कांग्रेसले अहिलेको जस्तो लज्जास्पद हार कहिल्यै व्यहोरेको थिएन ।’

केन्द्रीय सदस्य घिमिरेले पार्टी पराजयको कारणबारे निर्मम समीक्षा आवश्यक रहेको बताए । पार्टीभित्र नेताले आ–आफ्नो सिन्डिकेट कायम गरेको बताउँदै त्यसलाई नभत्काउँदासम्म कांग्रेसमा सुधार नहुने बताए । ‘सिन्डिकेटमा पार्टी चलाउने प्रवृत्तिलाई हामीले अन्त्य गर्न सकेनौं भने अर्कोपटक पनि कांग्रेसले यस्तै गरी हार्छ,’ उनले भने, ‘पार्टीको आन्तरिक अव्यवस्था सुधार गर्न नेतृत्वमा युवाले जबर्जस्त हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ ।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्