Logo

ओली–दाहाल भन्छन्, ‘गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको छ’



काठमाडौं १६ पुस ।
वाम गठबन्धनका शीर्ष नेताद्वयले पार्टी एकता हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताविरुद्ध भइरहेका षड्यन्त्र असफल हुने दाबी गरे ।

अध्यक्ष ओलीले वाम गठबन्धन तोड्ने प्रयास काम नलाग्ने बताए । ‘उहाँले सार्वजनिक कार्यक्रममै भनिसक्नुभयो, ५ वर्ष सरकारको नेतृत्व गर्नुस्, हामी सहयोग गर्छौं,’ माओवादी अध्यक्ष दाहालतर्फ संकेत गर्दै ओलीले भने ।

५ वर्ष सरकारको नेतृत्व गर्न कांग्रेसले माओवादी अध्यक्ष दाहाललाई गरेको प्रस्तावको ओलीले खण्डन गरे । ‘त्यो प्रस्ताव माया गरेर देश बनाउन गरेको होइन, गठबन्धन भत्काउन, बिगार्न हो,’ उनले भने ।

जनताले वाम गठबन्धनलाई विश्वास गरी सुम्पेको जिम्मेवारी छाडेर अन्यत्र नजाने ओलीले प्रतिबद्धता व्यक्त गरे । सरकार गठन कि पार्टी एकता अघि भन्ने बहस चलिरहेको भन्दै ओलीले दुई पार्टी एकतालाई चाँडै टुंगोमा पुर्‍याइने बताए । उनले सकेसम्म एकतापछि सरकारमा सामेल हुने नभए तालमेल गरेरै भए पनि सरकार बनाउने धारणा राखे । ‘जुनसुकै अवरोध आए पनि अबको सरकार वामपन्थी नेतृत्वमै बन्छ,’ ओलीले भने ।
देशमा स्थिरता, स्थायित्वबिना विकास नहुने भन्दै ओलीले अब प्रदेश २ बाहेक वाम गठबन्धनको सरकार बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने बताए । ‘देशको विकास र समृद्धिका लागि अनुकूल वातवारण बनेको छ,’ उनले भने ।

माओवादी अध्यक्ष दाहालले अवसर र चुनौतीबीच गठबन्धन सरकार बन्न लागेको बताए । ‘अबको सरकार अवसर र चुनौतीबीच बन्दै छ,’ दाहालले भने ‘शान्ति, स्थायित्व र समृद्धि दिनुपर्छ । त्यसका लागि भ्रष्टाचार निर्मूल पार्न सक्नुपर्छ, यो अग्निपरीक्षा पनि हो ।’
आगामी १० वर्षमा समृद्धि दिन नसके पुन: राजनीतिक अप्ठ्यारो आउने दाहालको भनाइ थियो ।

कार्यक्रममा कांग्रेसका नेता रामचन्द्र पौडेलले देशलाई समृद्धिको अभियानमा लैजानुपर्नेमा जोड दिए । उनले समृद्धिका लागि कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जाको विकास मूल आधार भएको उल्लेख गरे ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्