Logo

तीन उम्मेदवारले मात्रै खर्च विवरण बुझाए



बैतडी, १७ पुस । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ उम्मेदवारमध्ये तीनजनाले मात्रै खर्च विवरण पेश गरेका छन् । निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दासमेत अझै नौ उम्मेदवारले खर्च विवरण पेश गर्न बाँकी छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च विवरण पेश गर्ने उम्मेदवारमा नेपाली काँग्रेसका वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, नेकपा ९एमाले०का पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी र प्रदेशसभा ‘क’ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार अर्जुनसिंह मडै हुनुहुन्छ ।

तीनैजनाले निर्वाचन आयोगको सीमाभन्दा कम चुनावमा खर्च भएको विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । वाणिज्य राज्यमन्त्री चन्दले रु २४ लाख ३६ हजार भण्डारीले रु १७ लाख ४० र मडैले रु ४८ हजार खर्च भएको विवरण पेश गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारले रु २५ लाख तथा प्रदेशसभा सदस्यका उम्मेदवार रु १५ लाखसम्म खर्च गर्न सक्ने निर्वाचन आयोगले सीमा तोकेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकारी फुयाँलले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाले उम्मेदवारी दिएकामा प्रतिनिधिसभामा नेकपा एमालेका नेता तथा पूर्व अर्थराज्यमन्त्री भण्डारी, प्रदेशसभा ‘क’ मा नेकपा ९माओवादी केन्द्र०का पे्रमप्रकाश भट्ट र प्रदेशसभा ‘ख’ मा एमालेका लीलाधर भट्ट विजयी हुनुभएको थियो ।

प्रदेशसभामा विजयी उम्मेदवार भट्टद्वयलगायत अन्य सात उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् । खर्च विवरण पेश गर्न बाँकी रहेको उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयले सूचित गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्