Logo

दुई नम्बर प्रदेशको मुख्यमन्त्री को ? यस्ता छन् दाबेदार



काठमाडौं :प्रदेश नम्बर २ मा स्पष्ट बहुमत ल्याएका मधेसवादी दलको सरकार बन्ने सम्भावना पक्का जस्तै छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठनबन्धनले प्रदेश २ मा स्पष्ट बहुमत ल्याएका छन् ।

यसरी पुग्छ बहुमत

फोरमले प्रत्यक्षमा २० र समानुपातिकमा ९ सहित २९ सिट जितेको छ भने राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सहित २५ सिट जितेको छ । प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिटमा राजपा–फोरमको ५४ सिट हुन्छ । त्यो प्रदेश सभाको स्पष्ट बहुमत हो ।

सरकार बनाउने जनमत फोरम र राजपालाई मधेशी जनताले दिएका छन् । मुलुकका ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको अवस्थामा प्रदेश २ मा गम्भीर दुर्घटना नभएमा मधेसको पहिलो सरकार फोरम–राजपा गठबन्धनको निश्चित छ ।

मधेसवादी दलको सरकार बन्ने पक्का भएपछि मुख्यमन्त्रीका लागि दुवै दलका नेताबीच आ–आफ्नै दाबी छ । आफु मुख्यमन्त्री बन्न शीर्ष नेतासमक्ष लविङ तिब्र पारेका छन् ।

फोरम ढुक्क

प्रदेश सभामा सबैभन्दा बढी सिट ल्याएकोले मुख्यमन्त्री पाउनेमा फोरम ढुक्क छ । राजपाले केही सिटमात्र कम भएको कारण दाबेदारीमा कमजोर नरहेको बताउँदै आएको छ ।

मुख्यमन्त्रीका लागि फोरमका उपाध्यक्ष लालबाबु राउत, राजपाका महासचिव मनिष सुमन मुख्य दाबेदारका रुप देखिएका छन् । राजपा नेता जितेन्द्र सोनलको मुख्यमन्त्रीमा दाबी रहेको छ । फोरम उपाध्यक्ष राउत पर्सा क्षेत्र नम्बर १ (ख)बाट बिजयी भएका हुन् । राजपा महासचिव सुमन सप्तरी क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका छन् । सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित भएका हुन् ।

यसो भन्छन् मुख्यमन्त्रीका दाबेदार

फोरम उपाध्यक्ष लालबाबु राउतले प्रदेश सरकार फोरम र राजपाको बन्नेमा करिब निश्चित रहेको बताए । उनले चुनावमा जनताले फोरम र राजपा गठनबन्धनलाई सरकार बनाउने म्यान्डिडेट दिएकाले फोरम– राजपा गठबन्धनको सरकार बन्ने बताए । फोरम नेता राउतले राजपा भन्दा धेरै सिट भएको फोरमले नै मुख्यमन्त्रीमा पहिलो दाबी गर्ने बताउँछन् ।

‘राजपा भन्दा फोरमको सिट बढी छ, त्यस कारण मुख्यमन्त्रीमा फोरमको हक दाबी हुन्छ,’ उनले भने । नेता राउतले पार्टीको निर्णयानुसार नै मुख्यमन्त्री हुने बताए । उनले आफु प्रदेश सभामा लडेको कारण स्वतः मुख्यमन्त्रीको दाबेदार रहेको बताए । उनले भने, ‘चर्चा हुनु स्वभाविक हो तर अन्तिम निर्णय पार्टी गर्छ, आफ्नो पक्ष भए, नभए पनि पार्टी निर्णय सबैले मान्नुपर्छ ।’

राजपा महासचिव सुमनले राजपा र फोरम एकीकरण उन्मुख रहेकाले जो सुकै मुख्यमन्त्री हुन नसक्ने बताए । वाम गठन्धनको विकल्पको सरकार बनाउने कसरत भइरहेको बताउदै उनले प्याकेजमा हुने सहमतिमा राजपाले प्रदेशिक सरकारको नेतृत्व लिन सक्ने बताए ।

सरकारमा राजपाको नेतृत्व

प्याकेजमा सहमति हुँदा संघीय सरकारमा फोरमले नेतृत्व गर्ने र प्रदेश सरकारमा राजपाले नेतृत्व गर्ने आसय सुमनको रहेको छ । उनले भने, ‘प्याकेजमा डिल हुन्छ, संघीय सरकार फोरमले नेतृत्व पायो भने हामीले प्रादेशीक सरकारको नेतृत्व लिनेछौ, राष्ट्रिय सभा पनि छ ,यहाँको प्रतिनिधित्वको कुरा पनि हुन्छ ।’

उनले जिम्मेवारी पाएमा मुख्यमन्त्री मात्र नभई प्रधानमन्त्रीसम्म चलाउन सक्ने बताए । ‘पद विशेषमा मेरो त्यस्तो आंकाक्षा होइन, तर पनि तपार्इँहरुले चर्चा चलाइदिनु भएको छ, जिम्मेवारी पाएमा प्रधानमन्त्री नै चलाइदिन सक्छु ।’

नेता सुमनले गठबन्धनको हाइकमाण्ड, पार्टीको हाइकमाण्ड र प्रदेश विधायकहरुले मुख्यमन्त्रीको टुङ्गो लगाउने बताए ।  राजपा नेता जितेन्द्र सोनलले राजनीति गर्ने मान्छेले दाबेदारी गर्नु स्वभाविक भएको बताए । ‘चर्चा हुनु स्वभाविक हो । ‘निर्णय गर्ने पार्टीले हो ।’ उनले भने ।

उनले प्रदेश २ मा राजपा– फोरम सरकार बन्ने निश्चित भएकोले पार्टी र गठबन्धनको नेतृत्वले मुख्यमन्त्री तय गर्ने बताए । उनले मधेसको मुख्य एजेण्डा संविधान संशोधन रहेको बताए । उनले संविधान संशोधनका साथै प्रदेश २ का विकास र समृद्धिको लागि अघि बढ्ने बताए । फोरम नेता विजयकुमार यादव समेत मुख्यमन्त्रीको चर्चामा छन् । फोरम नेता यादव सिराहा क्षेत्र नम्बर २(क) बाट निर्वाचित भएका छन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्