Logo

विकराल बन्दै विषादी आयात



काठमाडौं १८ पुस । खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ।

खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरकारले राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गर्दै आएको छ। तर, कार्यक्रम सञ्चालन भएपछि विषादीको आयात घट्नुभन्दा बढ्दै गएको पाइएको छ। यसरी बर्सेनि आयात र प्रयोग बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ।

विषादी तरकारीखेतीसँगै खाद्यान्नबाली, नगदेबाली, दालखेती र फलफूलखेतीमा किसानले अनियन्त्रित रूपमा प्रयोग गर्दै आएका छन्। यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौलालगायत रोग लाग्न सक्छन्। यस्तै आँखाको ज्योति गुम्ने, अपांग बच्चा जन्मिने, हृदयघात हुने, प्यारालाइसिसलगायय अन्य गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने सम्भावना पनि हुन्छ। विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउनेलगायत समस्या देखा पर्छन्। विषादीको अवशेषले माटो, खानेपानीको मुहान, हावा पनि विषाक्त बनेर जलचर, उभयचर र अकाशमा उडने पशुपन्छिसमेत खतरामा परेका छन्।

बाली संरक्षण निर्देशनालयले २०६० सालदेखि अत्यधिक परिमाणमा विषादी प्रयोग हुने जिल्लामा कृषि पाठशाला कार्यक्रममार्फत आईपीएम योजना सञ्चालन गर्र्दै आएको छ। कार्यक्रम कार्यान्वयन भएका जिल्लामा विषादी प्रयोग घट्दै जानुपर्नेमा बढ्दै गएको देखिन्छ।

नर्वे सरकारको करिब ४५ करोड रुपैयाँको आर्थिक सहयोग र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा २०६० देखि २०७० सम्म झापा, इलाम, काभ्रे, बारा, मुस्ताङ, नवलपरासी, जुम्ला, बाँके, डडेल्धुरा, कैलाली र स्याङ्जा जिल्लामा आईपीएम कार्यक्रम सञ्चालन भएको थियो। अहिले बाली संरक्षण निर्देशनालयले आफ्नै खर्चबाट बर्सेनि वार्षिक २५ लाख खर्च गरेर धादिङ, तनहुँ, मोरङ, चितवन र बर्दियामा यो कार्यक्रमलाई निरन्तरता दिएको छ। यही जिल्लामा अहिले पनि सबैभन्दा बढी परिमाणमा विषादीको प्रयोग भइरहेको छ।

यसरी करोडौं रुपैयाँ नियन्त्रणका नाममा खर्च भइसक्दा पनि विषादी आयात बढ्दै गएको छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ६९ करोड ४८ लाख रुपैयाँको पाँच लाख ७४ हजार ६० किलो विभिन्न प्रकारका विषादी आयात भएको छ। आव २०७१/७२ मा ६४ करोड ६१ लाखको पाँच लाख ४९ हजार नौ सय ६५ किलो विषादी आयात भएको थियो।

‘यो तथ्यांकले विषादीको प्रयोग बढ्दै गएको पुष्टि गर्छ’, वातावरण तथा विषादी विज्ञ डा.भुपेन्द्र देवकोटाले भने,‘किसान आमउपभोक्ताको स्वास्थ्यप्रति सचेत र इमान्दार नभएका कारण विषादी प्रयोग पछिल्ला वर्ष बढ्दै गएको छ।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्