Logo

मिर्गौला रोगी पत्रकार पकुवाललाई बैंकको सहयोग



दमक, १९ पुस । दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।बैंकले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार एक सहयोग उपलब्ध गराएको हो ।

सो सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान ब्रजाचार्यले नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गर्नुभयो । उहाँ आफैँले पनि बिरामी पत्रकार पकुवालको उपचारका लागि थप रु पाँच हजार सहयोग गर्नुभएको थियो ।

पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या देखिएको उहाँका श्रीमान् सञ्जय श्रेष्ठले बताउनुभयो । हाल काठमाडौँको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत उहाँ भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिकको सम्पादक हुनुहुन्छ ।

भक्तपुरमा उपचाररत पकुवालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन जिल्लाका सहकर्मी पत्रकारले एक अभियान सञ्चालन गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्