Logo

राष्ट्रियसभा चुनाव : कुन प्रदेशमा कति मतदादता ?



काठमाडौं २१ पुस । राष्ट्रियसभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर २ छन् । भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रियसभा सदस्य भने समान संख्यामा चुनिने छन् ।

मधेसी दलले प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभा सदस्य चुनिनुपर्ने माग राख्दै आए पनि उक्त माग अनुसारको संविधान संशोधन हुन नसकेपछि सबै प्रदेशबाट समान संख्यामा सदस्य निर्वाचित हुने भएका छन् ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना सहित ८ जना चुनिने संवैधानिक प्रावधान छ । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना राष्ट्रियसभामा मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्यहरु तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।

आयोगका प्रवक्ता सह सचिव दिनेश घिमिरेले राष्ट्रियसभा निर्वाचन लक्षित तयारीको काम भइरहेको बताए । उनले प्रदेश पिच्छे मतदाता संख्या फरक भए पनि निर्वाचित हुने संख्या भने प्रत्येक प्रदेशबाट ८ जना रहेको जनाए । स्थानीय तहको मतदाता नामावली तयार भइसकेको र प्रदेशसभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक भएसँगै त्यसको मतदाता नामावलीले पनि पूर्णता पाउने उनले जानकारी दिए ।

७ वटै प्रदेशबाट राष्ट्रियसभामा चुनिने सदस्यको संख्या बराबरी छ तर, प्रदेशगत रुपमा मतदाताको संख्या भने फरक फरक हुनेछ । प्रदेश अनुसार प्रदेशसभाको सदस्य संख्या र स्थानीय तहको संख्या फरक फरक रहेकाले मतदाता संख्यापनि त्यही अनुसार घटी बढी हुने हो । कुल मतदाताको संख्या २ हजार ५६ छन् ।
राष्ट्रियसभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरेको छ ।

सबभन्दा बढी मतदाता रहेको प्रदेश नम्बर २ का सबै मतदाताको मतभार १० हजार ३२ हुने भएको छ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या १ सय ७ तथा स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको कुल संख्या २ सय ७२ छ । स्थानीय तहको संख्या १ सय ३६ रहेकाले स्थानीय तहबाट मतदाता संख्या त्यसको दोब्बर रहने छ । उक्त प्रदेशको कुल मतदाता संख्या ३ सय ७९ हो, जुन अन्य सबै प्रदेशभन्दा बढी हो ।

त्यसपछि मतदाताको संख्या प्रदेश नम्बर १ मा छ । तर मतभारको तुलना गर्ने हो भने प्रदेश नम्बर २ पछाडि दोस्रोमा प्रदेश नम्बर ३ को छ ।
प्रदेश नम्बर १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका २ सय ७४ गरी ३ सय ६७ जना मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ३७ हो । सबै मतदाताको मतभार ९ हजार ३ सय ९६ हुन आउँछ ।

प्रदेश नम्बर ३ मा स्थानीय तहको संख्या १ सय १९ रहेकाले स्थानीय तहबाट २ सय ३८ जना र प्रदेशसभा सदस्य १ सय ७ गरी ३ सय ४८ जना कुल मतदाता छन् । प्रदेश नम्बर १ को भन्दा प्रदेशसभा सदस्यको संख्या १४ ले बढी भएपछि यस प्रदेशको मतदाताहरुको मतभार भने ९ हजार ५ सय ६४ हुनेछ ।

मतदाताको संख्या र मतभारमा प्रदेश नम्बर ४ भने चौथो स्थानमा छ । त्यहाँ प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० गरी कुल मतदाताको संख्या २ सय ३० छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या ८५ रहेको छ । सबै मतदाताको मतभार भने ७ हजार २ सय ३६ पुग्छ ।

प्रदेश नम्बर ५ मा सबै मतदाताको मतभार ५ हजार ९ सय ४० पुग्छ । त्यहाँ प्रदेशसभा सदस्यको संख्या ६० तथा स्थानीय तहबाट २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन् । उक्त प्रदेशमा स्थानीय तहको संख्या १ सय ९ रहेको छ ।

प्रदेश नम्बर ६ मा अन्य सबै प्रदेशभन्दा कम मतदाता छन् । त्यहाँ प्रदेशसभा सदस्य ४० र स्थानीय तहका १ सय ५८ गरी कुल १ सय ९८ मतदातामात्रै छन् । ती मतदाताको मतभार ४ हजार ७ सय ६४ हो । उक्त प्रदेशमा स्थानीय तहको संख्या ७९ छ ।

कुल मतदाता २ सय २९ रहेको प्रदेशसभा ७ मा मतदाताको मतभार ५ हजार ७ सय ८ हुन आउँछ । उक्त प्रदेशमा प्रदेशसभा सदस्यको संख्या ५३ र स्थानीय तहबाट मतदाता हुने संख्या १ सय ७६ छन् । त्यहाँ स्थानीय तहको संख्या ८८ छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्