Logo

सहायक रथीमाथि सेनाभित्रै छानबिन



काठमाडौं २१ पुस ।
नेपाली सेनाले बैंकको रकम हिनामिनाका विषयमा सहायक रथी रमेश विष्टमाथि आन्तरिक छानबिन अघि बढाएको छ । यसका लागि सेनाले समिति नै बनाएको छ । छानबिनपछि ‘कोर्ट अफ इन्क्वाइरी’ ले दोषी ठहर सदर गरेमा उनलाई ‘कोर्टमार्सल’ समेत हुनेछ । कृषि विकास बैंकको न्युरोड शाखाबाट हिनामिना भएको ५ करोड रुपैयाँमध्ये ३३ लाखभन्दा बढी विष्टको खातामा देखिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्तो पाएपछि विष्टलाई सेनाले आफ्नो नियन्त्रणमा राखेर छानबिन थालेको हो ।

सीआईबीले पनि आफ्नोतर्फबाट अनुसन्धान जारी राखेको छ । सेनाका नवनियुक्त प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले छानबिन प्रक्रिया सुरु गरिएको जानकारी दिए । विष्ट वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा कार्यरत छन् । बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न कृषि विकास बैंक न्युरोडमा कार्यरत सहायक टेलर दीपिका रेग्मीसहित अन्य सबैलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । पक्राउ परेकालाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा अघि बढाइएको हो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्