Logo

राष्ट्रिय सभा रातो र प्रतिनिधिसभा हल नीलो रङको बन्दै



काठमाडौं २१ पुस ।  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८० वटा रातो रङको कुर्सी राखिनेछ । २७५ सदस्यीय प्रतिनिधिसभा हलमा भने नीलो रङका ३४४ वटा सिट रहनेछन् । निर्वाचनपछिको पहिलो अधिवेशनलगायतमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाका कारण ३४४ सिट क्षमताको हल बनाउन लागिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । दर्शक तथा पत्रकारलाई भने छुट्टै सिटको व्यवस्था छ । नयाँपत्रिका दैनिकमा खबर छ ।

राष्ट्रिय सभाको सिट व्यवस्थापन
संघीय संसद्को उपल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभा नयाँ बानेश्वरस्थित यसअघि व्यवस्थापिका–संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नुप्से हलमा बस्नेछ । जहाँ अहिले ड्यास तथा मञ्च निर्माण भइरहेको छ । संविधानसभा बसेको हलमा प्रतिनिधिसभा बस्नेछ । ६०१ सदस्य अट्ने क्षमताको हलको सिट संख्या घटाउने तथा प्रतिनिधिसभा हल तयार पार्ने काम अघि बढेको छ । सचिवालयका अनुसार पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुनेछ । राष्ट्रिय सभा हलको कुर्सी, माइक, अध्यक्षको ड्यास पूरै नयाँ व्यवस्थापन गर्नुपर्ने भएकाले माघको दोस्रो सातामा हल तयार हुने सचिवालयले जनाएको छ ।

सचिवालयको नाम परिवर्तन, संसद् भवनमा बोर्ड फेरिँदै
संविधान जारीसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित भयो । बानेश्वरस्थित ‘संविधानसभा भवन’लाई ‘व्यवस्थापिका–संसद्’ नाम दिइयो । हाल सचिवालयले सो बोर्ड हटाएर ‘संघीय संसद्’को बोर्ड राख्ने तयारी गरेको छ । सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयको नाम परिवर्तन गरेर संघीय संसद् सचिवालय बनाइसकिएको छ ।

सभाहल किन रातो र नीलो ?
संघीयताको अभ्यास गरिरहेका विभिन्न देशको संसद्मा माथिल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको पाइन्छ । नेपालको संघीय संसद्मा समेत शान्तिको प्रतीकस्वरूप नीलो र राष्ट्रिय झन्डामा प्रयोग हुने रातो रङ भएकाले यस्तो अभ्यास गरिएको संसद् सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘संघीयतामा रहेका विभिन्न मुलुकले गरेका सकारात्मक पक्षलाई हामीले पनि ग्रहण गरौँ भनेर यसो गर्न लागिएको हो,’ उनले भने ।

नयाँपत्रिका दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्