Logo

भाइरलले ६ को मृत्यु



काठमाडौं २२ पुस ।
जुनीचाँदे गाउँपालिकामा दुई सातायता फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउँपालिकाका २ हजार स्थानीय बिरामी छन् ।

ज्वरोले जुनीचाँदे २, मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ५३ वर्षीया आइती तिरुवा, ७२ वर्षीय सतरूप शाही र नाम नखुलेका ३ नवजात शिशुको मृत्यु भएको हो । भाइरलका कारण उनीहरूको मृत्यु भएको स्वास्थ्यचौकी, बडुलेका इञ्चार्ज हरिबहादुर सिंहले बताए ।
चिसोका कारण भाइरल प्रकोप फैलिएको र प्रतिरोध क्षमता कमजोर भएकाहरूको मृत्यु भएको सिंहले बताए । उनका अनुसार ज्वरोले जुनीचाँदे १, २ र ३ का २ हजार स्थानीय थला परेका छन् । भाइरल प्रकोप नियन्त्रणमा लिन नसके बिरामीको संख्या बढ्ने उनले बताए । बिरामीमा ज्वरो आउने, हातखुट्टा दुख्ने, चिटचट पसिना आउने, सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वास बन्द हुने, आँखा रातो हुनेलगायत लक्षण देखा परेको सिंहले जानकारी दिए । स्वास्थ्य चौकीमा दैनिक सयभन्दा बढी भाइरलका बिरामी उपचारका लागि आउने गरेको उनले सुनाए ।
बिरामी स्वास्थ्य संस्थाभन्दा बढी धामीझाँक्रीकहाँ जाने गरेकाले प्रकोप तीव्र रूपमा फैलिएको सिंहको भनाइ छ । जुनीचाँदे, काप्रा, बडुले, कार्कीगाउँ, मजकोट, आलीमौगाना, डाँडाकोट र परालेमा भाइरल ज्वरोको प्रकोप देखा परेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले बताए । उनका अनुसार गाउँगाउँमा भाइरल ज्वरोले थलिएका स्थानीय धेरै छन् । सबैभन्दा बढी बिरामी मजकोटमा रहेको उनले बताए । ‘एउटै घरका ३/४ जनासम्म थला परेका छन्,’ उनले भने ।
छेडागार नगरपालिकाको सुवानाउली र टीकाचौरमा पनि भाइरलका बिरामी बढेको उनले बताए । प्रकोप फैलिएको सूचनालगत्तै महामारी फोकल पर्सन कृष्ण खत्रीको टोली जुनीचाँदे पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए । रोग प्रभावित क्षेत्र सदरमुकामबाट ३२ कोस टाढा रहेको उनले जानकारी दिए । रोग प्रभावित क्षेत्रमा एक ट्याक्टर औषधिका साथै स्वास्थ्यकर्मी पठाइएको उनले जनाए । रोग पहिचानका लागि टेक्निसियनसहित एच१एन१ को टेस्ट किडसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले बताए । प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्य नेतृत्वको टोली पनि पठाइएको कार्यालय प्रमुख नेपालीले बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्