Logo

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार



काठमाडौं २२ पुस । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए ।

जिम्मा मनोज पुनले लिए
हत्याको जिम्मा मनोज पुनले लिएका छन् । यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनकै संलग्नता थियो । आफू मलेसियाबाट बोलेको भन्दै उनले वसन्तको हत्या ‘आफ्ना केटाहरूले’ गरेको बताएका छन् । केही सञ्चारकर्मीलाई फोन गरेर उनले आफूसँगको रिसइवीका कारण हत्या गरेको बताएका छन् ।

को हुन् वसन्त ?
पौडेल स्थानीय एमाले नेता नीलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साबिकको केरवानी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ देवदह क्षेत्रका समाजसेवी हुन् । विगतमा युवासंघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका वसन्तले पछि पार्टी सदस्यता लिएका थिए । युवासंघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीसँगै युवासंघको राजनीतिमा सक्रिय वसन्तले उज्ज्वल सःमिल चलाउँदै आएका थिए ।

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले
स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

को हुन् मनोज ?
युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा युवासंघकै कार्यकर्ता थिए । रूपन्देहीको देवदह नगरपालिका–६ का मनोज पुन भन्ने मनोज बुढामगरको समूहले पछिल्ला वर्षमा चन्दाआतंक मच्चाउँदै आएको छ । मनोज संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ । ४ पुस ०७३ मा युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।



प्रतिक्रिया दिनुहोस्