Logo

रेडपाण्डाको संरक्षणमा जुटे म्याग्देली



बेनी, म्याग्दी, २२ पुस । केही वर्ष अगाडिसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे ९रेडपाण्डा० सिकारीको रोजाइमा पर्ने गरेको थियो ।

वन जंगलमा टुसा खोज्न जाने स्थानीयले घरेलु हतियारको प्रयोग गरेर शिकार गर्ने गरेका थिए । पहिचान र प्रचारप्रसारको अभावमा स्थानीयले शिकार गर्ने गरेको भए पनि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा जिल्लाकै अति विकट मानिने लुलाङ र गुर्जाको मरेनी, जलजला सामुदायिक वन तथा आसपासका क्षेत्रमा भेटिएको रेडपाण्डाका बारेमा स्थानीयले जानकारी पाएपछि संरक्षण अभियान शुरू गरेका छन् ।

दुई वर्षसम्म गरेको अनुसन्धानकर्ताले स्थानीयलाई रेडपाण्डाको जानकारीसहित बस्ने वासस्थानसमेत देखाइ दिएपछि नियमित संरक्षणका रेडपाण्डाको शिक्षा लिएका स्थानीयवासी सक्रिय रहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो ।

“रेडपाण्डाको संरक्षणमा स्थानीयवासी सक्रिय छन् । विद्यालयका विद्यार्थीले समेत रेडपाण्डाको बारेमा शिक्षा पाइसकेका छन्” उहाँले भन्नुभयो । रेडपाण्डा नेटर्वकले जंगलमा रेडपाण्डाको वासस्थान फेला पारेपछि लुलाङ र गुर्जाका स्थानीयवासी, विद्यालयमा अध्ययनरत विद्यार्थीलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका गाउँलेलाई लोपोन्मुख रेडपाण्डाका बारेमा जानकारी गराएका थिए । “विश्वमै दुलर्भ जनावर गाउँमै भेटिएपछि सबै संरक्षणमा जुटेका छन् । संरक्षण नीतिका लागि पहल गरिरहेको छु” स्थानीय अगुवासमेत रहनुभएका छन्त्यालले भन्नुभयो ।

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएको गुर्जा, लुलाङमा रतुवा, घोरल, मृग, बँदेलसहितका जंगली जनावर पाइने जंगलमा लुकीछिपी वनयजन्तुको तस्करको क्रममा लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डालाई समेत निसाना बनाउन सक्ने भन्दै रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाइसमेत गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा ५५ वटा रेडपाण्डा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा २०० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ ।

निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित वनयजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्ने धौलागिरि गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले बताउनुभयो । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्