Logo

प्रदेश प्रमुख भोलि, राजधानी निर्णय प्रदेशसभाबाटै



काठमाडौं २३ पुस ।  कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए । एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी मन्त्री थापाले दिए ।

‘सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ अन्नपूर्णसँग थापाले भने, ‘त्यसैले सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौंं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’

‘सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन । सोमबारसम्म सहमति जुटाउन कोसिस गर्छौंं, नजुटे प्रदेश राजधानी तोक्दैनौं । -यज्ञबहादुर थापा, कानुनमन्त्री

प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने जानकारी पनि कानुनमन्त्रीले दिए । सहमति भए प्रदेशको राजधानीमै शपथ खुवाउने थापाले बताए । सरकारले सहमतिका लागि के–कस्तो प्रयास गरिरहेको छ भन्ने जिज्ञासामा उनले वाम गठबन्धनका शीर्ष नेताहरूसँगै प्रधानमन्त्री सम्पर्कमा रहेको जानकारी दिए । प्रदेशका सांसदको बहुमतले तोकेको स्थानलाई प्रदेशको राजधानी बनाउने कुरा त संविधानमै रहेकाले सो प्रक्रिया पनि राजधानीमै हुन सक्ने थापाले बताए ।

‘सर्वदलीय बैठकपछि सरकारले हामीसँग कुरा गरेको छैन । कुर्सीमा बसेर निर्णय गर्न नजान्ने अनि अन्तिममा सहमति खोज्ने प्रवृत्ति ठीक होइन ।’ – अग्नि खरेल, एमाले नेता

एमालेका नेता अग्निप्रसाद खरेलले संविधानसम्मत काम गर्न सहमति नचाहिने र सरकार गठनमा ढिलाइ गर्न नहुने बताए । ‘संविधानसम्मत काम गर्न सरकारलाई सहमति चाहिँदैन, योे वा त्यो नाममा सरकार गठनमा ढिला गर्न पाइँदैन’, उनले भने । बिहीबारको सर्वदलीय बैठकपछि सरकारले एमालेका जिम्मेवार नेताहरूसँग छलफल नगरेको उनले जानकारी दिए । ‘सर्वदलीय बैठकपछि सरकारले हामीसँग वार्ता गरेको छैन । कुर्सीमा बसेर निर्णय गर्न नजान्ने अनि अन्तिममा सहमति खोज्ने प्रवृत्ति ठीक होइन’, उनले भने ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्