Logo

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु



इटहरी, २३ पुस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ ।

नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकसहित १८७ एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता छ ।

झण्डै ५० जना ओलम्पियनसहित प्रशिक्षक र निर्णायकसमेतको सहभागितामा तीनदिने प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव विष्टले सरकारले नेपाली खेलको विकासमा विशेष चासोसहित बजेट विनियोजनमा सक्रियता देखाउँदै आएको बताउँदै देशमा नै सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल पनि इटहरीको रङ्गशालामा हुन लागेको जानकारी दिनुभयो ।

मोरङ एथलेटिक्स संघका अध्यक्ष किशोरलाल अमात्यको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा खेलकुद विकास समिति पूर्वाञ्चलका अध्यक्ष रविन नगरकोटी, प्रभाकर पाण्डेलगायतले बोल्नुभएको थियो । प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख निर्णायक अमिरी यादव र ओलम्पियन सरस्वती भट्टराईले शपथ लिनुभएको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत १००, २००, ४००, १० हजार मिटरलगायत अन्य दूरीका दौड तथा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुटलगायत खेल हुने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्