Logo

एमाले माओवादी एकता, आज दुई दलका आन्तरिक छलफल



काठमाडौं २४ पुस ।
एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा एउटा सानो समूहलाई जिम्मेवारी दिने समझदारी भएको हो । मुल नेतृत्वको बिषयमा दुईपक्षबीच नै कुरा मिलाउनुपर्नेछ । त्यस बाहेकका अन्य बिषयमा भने यो कार्यदलले गृहकार्य गर्नेछ । सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउनुपर्ने सुझाव नेताहरुले दिएका थिए । एउटै कार्यदल बनाउने कि दुईटा भन्ने निर्णय हुन बाँकी छ ।

तीन दिन चितवन बसेर आइतबार स्थलमार्गबाट राजधानी आएका दाहाल साँझ ओली भेट्न बालकोट पुगेका थिए । केही दिनदेखि स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका ओलीसंग दाहालले एक घण्टा छलफल गरेका थिए । बैठकपछि दाहालले एकता प्रक्रिया छिटो टुंग्याउने गरी छलफल केन्द्रित भएको जानकारी दिए । ओली र दाहालबीच पछिल्लोपटक पुष १५ मा भेट भएको थियो । त्यसपछि दाहाल अन्यत्र काममा व्यस्त थिए ।

ओली र दाहालबीच एकतासम्बन्धी बिषयमा सोमबार आ–आफ्नो दलमा छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक राख्ने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ‘एकता संयोजन समितिको बैठक बस्नुअघि आन्तरिक छलफल गर्नुपर्ने निष्कर्षमा अध्यक्षहरु पुग्नुभएको छ’ अधिकारीले भने । एमालेले सोमबार २ बजे स्थायी समिति बैठक बोलाएको छ । माओवादीको पनि सोमबार नै हेडक्वार्टर बैठक बस्नेछ । दुबै दलले पार्टी एकताका लागि शिर्ष नेतासम्मिलित ‘एकता संयोजन समिति’ बनाएका छन् । उक्त समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल छन् र माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । चुनाव पछि उक्त समितिको बैठक बसेको छैन । एकता संयोजन समितिको बैठकका लागि अध्यक्षहरुले समझदारी गरी एजेण्डा तय गर्ने भनिएको थियो । तर दुई अध्यक्षबीचको छलफल नै निष्कर्षमा पुगेको छैन ।कान्तिपुरबाट

ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाँदैछन् । ओली त्यता जानु अघि नै एकतासम्बन्धी काममा केही प्रगति भइरहेको संन्देश दिन पनि एकता संयोजन समितिको बैठक बस्न लागेको हो । दुबै दलबीच नयाँ सरकारको बनाउने बेलासम्म पार्टी एकताको बिषय पनि टुंगो लगाउनुपर्ने समझदारी छ ।

दुई दलबीचको एकताका लागि अहिले सबैभन्दा बढी विवाद पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । माओवादीले अध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । एमालेको तर्फबाट दाहाललाई अध्यक्ष दिने कि नदिने भन्नेमा अझै स्पष्ट धारणा आएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot