Logo

सामुदायिकको सिकाइ ‘निराशाजनक’



काठमाडौं २५ पुस ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले नेपालीमै सरल वाक्य लेख्नसमेत नसकेको औंल्याएको हो ।

ईआरओले ११ जिल्लाका २ हजार ६ सय ५ सामुदायिक विद्यालयका ७२ हजार ५ सय ३८ विद्यार्थीमाथि अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो । कक्षा २ का ३५ हजार ९ सय ८३ र कक्षा ३ का ३६ हजार ५ सय ५५ विद्यार्थीमाथि अनुसन्धान गरिएको थियो । परीक्षणका क्रममा श्रुति लेखनमा सबभन्दा कमजोर पाइएको हो । कक्षा २ का विद्यार्थीको कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन सीप परीक्षण गर्दा यस्तो वाक्य लेखनको सिकाइ उपलब्धि ४० मात्रै छ । यसमा शिक्षकले ‘म फलफूल खान्छु, पिउने पानी सफा हुनुपर्छ, पाकेको आँप गुलियो हुन्छ, रामले झोलामा आफ्नो किताब राख्यो’ जस्ता वाक्य उच्चारण गरेर विद्यार्थीलाई लेख्न लगाइएको थियो ।

यस्ता वाक्य लेख्न नजान्नेमा धनकुटामा ६० प्रतिशत, सप्तरीमा ५८, पर्सामा ५३, भक्तपुरमा ४५, कास्कीमा ४८, मनाङमा ७६, दाङमा ६७, बाँकेमा ६५, बर्दियामा ७४, कञ्चनपुरमा ६५ प्रतिशत विद्यार्थी छन् । कक्षा ३ मा श्रुतिबोधमा भँगेरा र भँगेरीको कविता सुनाएर प्रश्न सोधिएको थियो । यसमा पनि सिकाइ उपलब्धि औसतमा ४९ प्रतिशत मात्रै थियो । औसत अंक पनि नल्याउनेमा सप्तरी, दाङ, बाँके, बर्दिया, कञ्चनपुरका विद्यार्थी छन् ।

ईआरओले कक्षा २ का विद्यार्थीको अक्षर मात्राको पहिचान, परिचित शब्द लेखन, श्रुतिबोध, सरल वाक्य गठन, शब्द भण्डार, सरल वाक्य र शब्द पठन बोध, जोडिएको शब्द छुट्याउने, श्रुति लेखन, क्यालेन्डरको जानकारीको परीक्षण गरिएको थियो । जोडा मिलाउनेमा ६२, जोडिएको अक्षर छुट्याउनेमा ५२, वाक्य लेखनमा ४० प्रतिशत पास भए । कक्षा ३ मा शब्द र वाक्य पठन, सही शब्द छनोट, चित्र वर्णन, शब्द छुट्याउने, श्रुति लेखन, पोस्टर पढ्न, कविता पढ्न, पात्रो हेर्न सक्छन् कि सक्दैनन् भन्ने परीक्षण गरिएको थियो । यसमध्ये चित्र वर्णमा सिकाइ उपलब्धि ४९, जोडिएको शब्द छुट्याउनेमा ५९, वाक्य लेखनमा ४६, पोस्ट पठनमा ६५, कविता पठनमा ४९ प्रतिशत औसत सिकाइ देखियो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्