काठमाडौं २९ पुस । भारतीय न्यायिक इतिहासमै पहिलो पटक वहालवाला चार बरिष्ठ न्यायाधीशले प्रधान्यायाधीशविरुद्ध सार्वजनिक बक्तव्य दिएका छन् । उनीहरुले प्रधानन्यायाधीशले न्याय सम्पादनका क्रममा तोकेको पेशीलगायतका कार्यले मुलुकमा प्रजातन्त्र नै खतरामा परेको भन्दै उनी विरुद्धमा उत्रिएका हुन्। बीबीसीका अनुसार उनीहरुले प्रधानन्यायाधीश दीपक मिश्रले आफ्नो प्राथमिकताका आधारमा बेञ्चमा पेशी तोक्ने र अदालतको नियमहरु मिच्ने काम गरेको आरोप लगाएका छन्।
यसरी पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टी बाहिर ल्याउनेमा न्यायाधीशहरु जष्ती क्षेलमेश्वर, रञ्जन गोगाई, मदन लोकुर र कुरियान जोसेफ छन्। ‘हामीले प्रधानन्यायाधीशलाई भेटेर अनुरोध गर्यौं, तर दुर्भाग्यबस उहाँलाई त्यसमा विश्वस्त तुल्याउन सकेनौं। त्यसैले हामीसंग संस्थालाई बचाउनका लागि ‘राष्ट्रका सामु’ आउनुभन्दा अर्को विकल्प रहेन’ दी इण्डियन एक्सप्रेसले न्यायाधीश क्षेलमेश्वरलाई उदृत गर्दै लेखेको छ। उनीहरु संयुक्त प्रेस विज्ञप्तीसमेत जारी गरेका छन्। ति न्यायाधीशरुले केही न्यायिक आदेशहरुका सम्बन्धमा पनि आफ्नो असन्तुष्टी पोखेका छन्। ति आदेशहरुले ‘अदालतको कामकारवाहीमै नराम्रो असर पार्ने’ उनीहरुको भनाई रहेको छ।
यस प्रकरणबाट देखा परेको अप्ठ्यारो परिस्थितिका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले कानुन मन्त्री रविशंकर प्रसादसंग आपतकालिन बैठक गरेको पनि उल्लेख गरिएको छ। कान्तिपुरबाट