Logo

केन्द्रीय समितिमा देउवाको कडा आलोचना



काठमाडौं ५ माघ ।
नेतृत्वको गलत निर्णय र कार्यशैलीका कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको कडा आलोचना भएको छ ।

निर्वाचनपछि पहिलोपटक विहीबार बोलाईएको बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरुले सरकार र पार्टी दुवै मोर्चामा नेतृत्व असफल भएको भन्दै पार्टी सभापति देउवाको आलोचना गरेका थिए । देउवा पक्षीय सदस्यहरुले भने नेतृत्वको बचाउ गरेका थिए ।

बरिष्ठ नेता पौडेलले देउवा प्रधानमन्त्री भएका बेला पार्टीलाई ‘नोक्सान’ मात्रै पुग्ने गरेको बताउँदै फेरि सरकारको नेतृत्वको आकांक्षा नराख्न आग्रह गरे । ‘उहाँ (देउवा) को ग्रहदशाले पटक(पटक प्रधानमन्त्री बन्ने तर पार्टीका लागि भने सधै प्रत्यूपादक हुने गरेको छ । ज्योतिषले सातपटक प्रधानमन्त्री हुन्छ भनेका छन् भनेर उहाँले सार्वजनिक रुपमा भन्नुभयो,’ बैठकमा पौडेलले राखेको भनाई उत्धृत गर्दे स्रोतले भन्यो, ‘देउवाजी जतिपटक प्रधानमन्त्री हुनुभयो । त्यतिपटक पार्टीलाई क्षति पुगेको छ । अब यो हुन दिन हुन्न । पार्टीलाई बचाउनु पर्छ ।’

पौडेलले त्यसो भन्दा देउवाले मेरो ग्रहदशाले तपाईले चुनाव हारेको चाहिँ होइन है भन्दै व्यंग्य गरेका थिए । पौडेलले निर्वाचनमा पार्टी पराजित हुनुमा नेतृत्वको भूमिका मुख्य कारण रहेकाले जिम्मेबारी पनि त्यहिँ रुपमा लिनुपर्ने बताए । उनले पार्टी बैचारिक र संगठानात्मक रुपमा पार्टीभित्र आमुल परिवर्तनको आवश्यकता भएको बताएका थिए । पार्टी विधान विपरित केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति बनाईएको भन्दै त्यसको खारेजीको माग पनि पौडेलले राखे । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति केन्द्रीय कार्यसमिति पछिको दोस्रो महत्वपूर्ण निकाय हो भने संसदीय समिति चुनावमा उम्मेदवार चयन गर्ने शक्तिशाली निकाय हो । यी दुवै समितिमा देउवाले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य मनोनित गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकले अपबादबाहेक यसअघि समानुपातिक तर्फबाट सुविधा लिईसकेलाई नदोर्‍याउने निर्णय गरेविपरित सभापतिले समानुापतिकमा दोर्‍याएको भन्दै पौडेलले त्यसको पनि विरोध गरे । प्रतिनिधिसभाको समानुपातिकको अन्तिम सूची पठाउँदा कसैलाई पनि नदोर्‍याउन उनले माग गरे ।

देउवाले निर्वाचन समीक्षाका लागि पछि छुट्टै बैठक राख्ने भन्दै बैठकको सुरुमा राष्ट्रियसभाको निर्वाचनको बिषयमा मात्रै छलफल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । देउवाले निर्वाचनका समीक्षाका लागि लामो छलफल आवश्यक रहेको भन्दै राष्ट्रियसभा निर्वाचनपछि छुट्टै बैठक बोलाउने बताएका थिए । बैठकमा पहिलोपटक लिखित एजेण्डा प्रस्तुत गरेका देउवाले सदस्यहरुको आक्रोश मत्थर पार्न महासमिति बैठक बोलाईने भनी आश्वस्त समेत पारेका थिए । तर, देउवा निकट केही केन्द्रीय सदस्यहरु बाहेक बैठकमा कसैले पनि उक्त औपचारिक एजेण्डामा छलफल गरेनन् । अधिकांश सदस्यहरु निर्वाचनमा हारको बिषय उठाएर नेतृत्वको आलोचनामा उत्रिएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचनको हारको बिषयमा गम्भीर छलफल प्रारम्भ भएको बताए । निर्वाचनको लामो समीक्षाका लागि अर्को केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यही बैठकबाट महासमितिको तिथी र स्थान समेत तोकिने उनले बताए ।

बैठकमा नेताहरु चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, प्रदिप पौडेल, कल्याण गुरुङ देउवाप्रति सबभन्दा बढी आक्रमक बनेका थिए । नेतृत्वको असफलताकै कारण निर्वाचनमा पार्टीको हार भएको भन्दै केन्द्रीय सदस्य भण्डारीले नेतृत्वले राजनीतिक भ्रष्ट्राचार गरेको आरोप लगाए । उनले सबै कुरा गुमाईसकेपछि राष्ट्रियसभा निर्वाचनमा गम्भीर हुनुपर्छ भन्नुको कुनै औचित्व नरहेको भन्दै निर्वाचन समीक्षामै आफ्नो समय खर्चिएका थिए । ‘निर्वाचन परिणामले नेतृत्वको असफलता प्रमाणित भईसकेको छ, यसको समीक्षा गरेर अघि बढ्नुपर्छ ।’

बैठकमा केन्द्रीय सदश्य नवीन्द्रराज जोशीले विधान विपरित बनाइएका संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति भंग गर्नुपर्ने प्रस्ताव राखेका थिए । केन्द्रीय सदस्यहरु धनराज गुरुङ र प्रदीप पौडेलले निर्वाचनमा पार्टीको पराजय नभएको भन्दै सभापति देउवाको बचाउमा उत्रिएका केन्द्रीय सदस्यहरुको कडा प्रतिवाद गरेका थिए । ‘यो निर्वाचनमा कांग्रेसको हार भएको होइन भनेर निष्कर्ष निकाल्न खोजियो भने कांग्रेस पतनको बाटोमा जान्छ,’ पौडेलले भने, ‘समानुपातिक तर्फ पनि कांग्रेस प्रतिस्पर्धी एमालेभन्दा ४५ हजार मतले पछि छ । प्रत्यक्षमा तेस्रो पार्टी छ । पार्टीले नेतृत्व गरेको सरकारका बेला चुनाव हुँदा पनि मुर्धन्य नेताहरु हार्नु भएको छ । यो भन्दा ठुलो पार्टीका लागि क्षति के हुनसक्छ ?’

नेताहरुको विश्वास र परम्पराको आधारमा नभएर विधानको आधारमा पार्टी चलाउनु पर्छ भन्दै पौडेलले थपे, ‘जनवादी नीति बोकेका कम्यूनिष्ट पार्टीको अध्यक्ष भन्दा पनि हाम्रा नेतृत्व स्वच्छाचारी र निरंकुश देखिए ।’ त्यही प्रवृतिका कारण पार्टी कमजोर बनेको उनको तर्क थियो । बैठककमा अधिकांशले संविधान जारी भएपश्चात सुशील कोइरालालाई प्रधानमन्त्रीमा प्रतिस्पर्धा गराउने दिनदेखि नै कांग्रेस ओरालो लागेको बताएका थिए । यो प्रकरणमा कांग्रेसका तत्कालीन सभापति कोइरालाका अतिरिक्त देउवा र पौडेलसमेत जिम्मेबार रहेको उनीहरुको भनाई थियो ।

नेतृत्वको आलोचना गर्नेहरुले बाम गठबन्धनका कारण मात्रै पार्टी पराजय नभएको भन्दै नेतृत्वको गलत कार्यशैलीलाई नै मुख्य जिम्मबार ठर्‍याएका थिए । भारतले लगाएको नाकाबन्दीका बारेमा पार्टी नेतृत्वले बोल्न नसक्नु, लोकमानसिंह कार्कीमाथि लगाईएको महाअभियोगबारे मौन बस्ने तर तत्कालीन प्रधानन्यायाधीश सुशील कार्कीमाथि महाअभियोग लगाउन अग्रसर हुने, गलत व्यक्तिलाई राजदूत नियुक्ति गर्ने, प्रहरी महानीरिक्षक बनाउने प्रकरणमा पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गर्नेलगायतका कार्यले नै सहरी मतदाता भडकएको उनीहरुको तर्क थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्