Logo

प्रदेश राजधानी विवाद : कहाँ कहाँ छ प्रदर्शन ? कसको छ नेतृत्व ?



काठमाडौं ५ माघ ।
सरकारले प्रदेशहरूको अस्थायी मुकाम तोकेपछि कतिपय जिल्लामा प्रदर्शनहरू भइरहेका छन्। सरकारले बुधबार सातै प्रदेशको ‘अस्थायी कार्य सञ्चालनस्थल’ तोकेको थियो। आफ्नो जिल्लालाई प्रदेश सदरमुकाम बनाउनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्।

बिहीबार बिहानैदेखि प्रदेश नम्बर १ को धनकुटा, प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को दाङ र प्रदेश ७ को डोटीमा प्रदर्शन भइरहेको छ। कतिपय ठाउँमा शान्तिपूर्ण प्रदर्शन भइरहेको छ भने कतिपय स्थानमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रदेश नम्बर ३, ४ र ६ भने शान्त देखिन्छन्।

सरकारको निर्णय

लामो रस्साकस्सीपछि सरकारले बुधबार प्रदेशको अस्थायी मुकाम र सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। राष्ट्रपतिले नियुक्ति गरेपछि प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन्।

सरकारले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी मुकाम तोकेको हो।

कानुन मन्त्री यज्ञबहादुर थापाले ‘संविधानको धारा २८८ को उपधारा ३ बमोजिम सातै प्रदेशमा प्रदेशको कार्य सञ्चालन गर्ने स्थान मात्रै तोकेको’ बताए।

‘प्रदेशसभाको दुई तिहाइबाट सम्बन्धित प्रदेशको राजधानी तोक्न सक्ने व्यवस्था छ, अहिलेलाई अस्थायी कार्य सञ्चालन स्थल तोकिएको हो’, मन्त्री थापाले भने, ‘प्रदेश प्रमुखहरू र प्रदेशसभाका सदस्यको सपथ लगायतका कामका लागि हाललाई यी स्थान उपयुक्त हुने देखेर निर्णय गरिएको हो, अन्तिम निर्णय संविधानअनुसार प्रदेशसभाकै हो।’

संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रत्येक प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने उल्लेख छ।

कहाँ कहाँ असन्तुष्टि? कसको नेतृत्व?

प्रदेश नम्बर १ को धनकुटामा प्रदर्शनकारी उग्र भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। प्रदर्शनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन्। उनीहरूले सार्वजनिक बिदाको दिन भएपनि भित्र छिरेर त्यहाँ रहेका फर्निचरमा आगजनी गरेका छन्। कार्यालयका झ्याल ढोकाको सिसा पनि उनीहरूले फुटाएका छन्।

धनकुटा नगरपालिकाको दमकलमा पनि प्रदर्शनकारीले क्षति पुर्‍याएका छन्। मोरङबाट आएको एम्बुलेन्समा प्रदर्शनकारीले तोडफोड गरेका छन्। डिभिजन सहरी विकास कार्यालयभित्र रहेको एउटा सरकारी मोटरसाइकल पनि प्रदर्शनकारीले जलाएका छन्। प्रदेशसभामा नेकपा एमालेका तर्फबाट विजयी भएका इन्द्रमणि पराजुली र निरन राई दुबैजनाले प्रदर्शनको नेतृत्व गरिरहेका छन्। पढ्नुस्ः धनकुटा तनावग्रस्त, कर्फ्यू लगाइयो

प्रदेश नम्बर २ को वीरगञ्जमा पनि असन्तुष्टि देखिएको छ। जनकपुरलाई अस्थायी मुकाम तोकिएपछि औद्योगिक नगरी वीरगञ्जमा असन्तुष्टि छ। ‘वीरगञ्ज राजधानी संघर्ष समिति’ बनाएर गत पुस २१ गतेदेखि नै यहाँ अनसन सुरु भएको थियो। कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले प्रदर्शनको नेतृत्व गरेका छन्।

प्रदर्शनमा कांग्रेस, एमाले र माओवादी केन्द्र सँगै छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जितेका संघीय समाजवादी फोरम र राजपाको भने औपचारिक सहभागिता आन्दोलनमा देखिएको छैन। प्रदर्शनमा पेशा व्यवसायीहरू र उद्योग वाणिज्य संघले पनि लिखित रुपमै ऐक्यबद्धता जनाएका छन्। बिहानैदेखि पर्साका बजार यातायतका साधन पसल आदि बन्द छन्। पढ्नुस्ः प्रदेश राजधानी : वीरगन्ज बन्द, बारामा प्रदर्शन

प्रदेश नम्बर ५ मा रुपन्देहीलाई अस्थायी मुकाम तोकिएपछि दाङमा आन्दोलन चर्किएको छ। दाङका सबैजसो दल आन्दोलनमा छन्। एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ। खड्कासहित माओवादी केन्द्रका सहइन्चार्ज निर्मल आचार्य र कांग्रेस सचिव शंकर डाँगीले जिल्लाका विभिन्न ठाउँमा भएका प्रदर्शनको नेतृत्व गरिरहेका छन्। पढ्नुस्ः रुपन्देहीलाई प्रदेश राजधानी बनाएपछि दाङ आन्दोलित

बिहीबार प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट विजयी मेखमणि चौधरीको उपस्थितिमा संघर्ष समितिको बैठक बसी खड्काको नेतृत्वमा संघर्ष समिति गठन भएको हो। प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट ३ (क) मा विजयी डिल्ली चौधरी र एमालेबाट २ (ख) मा विजयी अमर डाँगी पनि प्रदर्शनमा देखिएका छन्।

दाङबाट प्रतिनिधिसभामा निर्वाचित माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बुधबार नै विज्ञप्ति निकालेर दाङ प्रदेश ५ को राजधानी हुनुपर्ने बताएका छन्। प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दाबेदार एमाले नेता शंकर पोखरेलले जनमत गुमाएको सरकारले विवेक गुमाएको टिप्पणी गर्दै प्रदेशसभाले विवेकसम्मत निर्णय गर्ने बताएका छन्।

प्रदेश नम्बर ७ को डोटीमा पनि प्रदेश राजधानीका विषयमा आन्दोलन चर्किएको छ। अन्य प्रदेशमा राजनीतिक दलको नेतृत्वमा प्रदर्शन भइरहेको भए पनि यहाँ भने उद्योग वाणिज्य संघले प्रदर्शनको नेतृत्व छ। प्रदेश ७ को अस्थायी कार्यसञ्चालनस्थल धनगढी तोकिएको छ।

सर्वपक्षीय भेला बसेरै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काको नेतृत्वमा संघर्ष समिति गठन गरिएको हो। नेपाली कांग्रेस जल्ला समितिका सबैले राजीनामा दिएका छन् भने बिहीबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन्। पढ्नुस्ः प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रदेश नम्बर ३, ४ र ६ प्रदेश मुकाम तोकिएको विषयमा शान्त देखिएका छन्। प्रदेश ३ को मकवानपर, प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतमा सरकारले अस्थायी कार्यसञ्चालन स्थल तोकेको छ।  अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्