Logo

पार्टी एकता : ओली–प्रचण्ड दुइटैलाई डर



 

काठमाडौं ९ माघ ।  एमाले माओवादी पार्टी एकताका विषयमा केही अप्ठ्यारा आइलागेका छन् । सरकार अघि पार्टी एकता वा सरकारपछि भन्नेमा देखिएको बहस रहस्य पार्टी पदसँग जोडिएको छ । एकताको पार्टी एकीकरण नहुँदै ओली नेतृत्वको सरकार बनिहालेमा आफ्नो मोलमोलाइ कमजोर हुने एकता पक्षधर माओवादी पंक्तिमा छ । सरकारमा जानुअघिको हतारोमा मात्र एमालेले सम्झौता गर्न र शक्ति साझेदारीमा लचकता अपनाउन सक्छ भन्ने उनीहरूको बुझाइ छ । प्रचण्डलाई अध्यक्ष पद नबुझाउन ओलीलाई एमालेका नेताहरूको दबाब छ । ओलीलाई अध्यक्ष नै राखेर सके प्रचण्डलाई सहअध्यक्ष दिने, नभए दुवै नेता रहेको संयुक्त नेतृत्वसम्बन्धी ढाँचा अपनाउनुपर्ने सुझाव ओली पक्षधर नेताहरूको छ ।

पार्टी सत्ता सम्पूर्ण रूपमा प्रचण्डलाई जिम्मा लगाउँदा एमालेभित्रै असन्तुष्टि चुलिन सक्ने खतरा ओली खेमाले देखेको छ । नेताबीचको समझदारी ६०–४० को अनुपातमा साझेदारी गर्ने भए पनि जनमतबाट ७०–३० को अनुपात मात्र स्वीकृत भएको ओली पक्षधरहरूको भनाइ छ । विगतमा पार्टी एकीकरण हुँदा स्वयं प्रचण्डले पनि रामबहादुर थापालाई नेतृत्व नदिएको, गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई नदिएको र एमालेमा पनि माधवकुमार नेपालले वामदेव गौतमलाई नदिएको दृष्टान्तका विष्यमा ओली पक्षभित्र छलफल भइरहको छ । तर माओवादीले त्यो एकता जस्तो अहिलेको एकता नभएको तर्क गरिरहेको छ ।

विचार भन्दा पद प्राथमिकतामा
सरकार गठनका लागि धेरै सैद्धान्तिक बहस मुख्य मुद्दा जस्तो बनाइएको छ । तरसंयुक्त चुनावी घोषणापत्र नै नीति तथा कार्यक्रमको आधार बनिसकेकाले त्यसमा धेरै अप्ठ्यारो नपर्ने नेताहरुको बुझाई छ । ‘वाद’ शब्दका विषयमा मात्रै मिल्नुपर्ने देखिन्छ । एमाले नेतृत्वले पहिला सरकार गठनको पक्षमा छ । सैद्धान्तिक र वैचारिक आधार निश्चित गर्न समय लाग्ने र पार्टी एकताले सरकार गठन रोकिन सक्ने एमालेको बुझाई छ । प्रधानमन्त्रीमा समर्थन गरेबापत पार्टी अध्यक्ष दिन नसकिनेमा एमालेभित्रको मत देखिन्छ । माओवादी पार्टी एकता पहिला अडान राखेर पदमा बार्गेनिङ बडाइरहेको छ । राष्ट्रपति र उपराष्ट्रपति अहिलेकैलाई निरन्तरता दिन माओवादी तयार छ । ठूलो दल भएकाले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने माओवादी नेताहरूको भनाइ छ । तर, शक्तिमा साझेदारीको विषय सरकार अलग र पार्टीको विषय अलग रूपमा टुंग्याउनुपर्ने एमाले नेताहरूको भनाइ छ ।

ओलिको चिन्ता
पार्टी एकता पछि केपी शर्मा ओलीले आफ्नो शक्ति के हुन्छ भन्ने आकलन गरिरहेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पनि शक्तिको हैसियतमा बार्गेनिङ बढाइरहेका छन् । एमाले र माओवादी केन्द्रको एकतापछि प्रचण्डलाई पार्टीको जिम्मा दिँदा पार्टीभित्र विपरित गुटमा रहेका माधव नेपालको खेमा प्रचण्डसँग मिलेर अल्पमतमा पार्न सक्नेओलीमा भय छ । पार्टी एकता पहिलो नै त्यसको व्यवस्थापन गर्न ओली चाहिरहेका छन् । सरकारको नेतृत्वमा जाने र पार्टीभित्रको पकड पनि कायमै राख्न चाहान्छन् । प्रचण्ड पनि बर्षौदेखि माओवादीमा रहेको पद र शक्ति कायमै राखेर एमालेसँग मिसिन चाहान्छन् ।

ओली र प्रचण्ड दुवैको चाहाना बुझेर एमाले उपाध्यक्ष वामदेव गौतमले मध्यमार्गी प्रस्ताव राखेका छन् । मंगलबारको एकता संयोजन समितिको बैठकमा गौतमले दुइटैलाई शक्तिमै राख्नेगरि नयाँ प्रस्ताव गरेको एक नेताले नेपालपाटीलाई बताए । गौतमले र प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड, दोस्रोमा आलोपालो बन्ने र दुवै नेता कार्यकारी प्रस्ताव गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्