Logo

जाँदाजाँदै लोकरिझ्याई : अब ६५ वर्षमै वृद्धभत्ता



काठमाडौं ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ।

अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ अर्ब रुपैयाँ खर्च हुँदै आएको छ। ६५ वर्ष सम्मकालाई भत्ता दिने निर्णय गर्दा यो रकममा उल्लेख्य वृद्धि हुने अर्थका अधिकारी बताउँछन्। यसअघि ७० वर्ष पुगेका वृद्धवृद्धा, एकल महिला, अपांगलगायतले मासिक २ हजार र दसैं खर्चसमेत वार्षिक २६ हजार रुपैयाँ बुझ्दै आएका थिए। सामाजिक सुरक्षा भत्ताको व्यवस्था तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले ०५१ सालमा गरेको हो।

सरकारका प्रवक्ता सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाएर ६५ वर्षमा झार्ने निर्णय गरिएको जानकारी दिए।यसैगरी, सरकारले बाढीपीडित तथा भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। हाल भूकम्पपीडितले अनुदानबापत ३ लाख रुपैयाँ पाउँदै आएका थिए। सरकारको निर्णयसँगै भूकम्पपीडितले अब अनुदानस्वरूप ४ लाख रुपैयाँ पाउने भएका छन्।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ठाडो प्रस्तावमा केही ठूला व्यापारिक घरानालाई करोडौं रुपैयाँ कर छुट दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भए पनि त्यसमा निर्णय भने हुन सकेन। अर्थमन्त्री कार्कीले विराटनगर-वीरगन्जका केही रुग्ण छाला उद्योगले सरकारलाई तिर्नुपर्ने करोडौं रुपैयाँ कर छुटको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए। अन्नपूर्णपोष्टबाट

– सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६५ वर्ष

– भत्तामा वार्षिक ३६ अर्ब रुपैयाँ खर्च

– मासिक २ हजार र दसैं खर्च गरी वार्षिक २६ हजार वितरण

– बाढीपीडित तथा भूकम्पपीडितलाई थप एक लाख अनुदान

– केही ठूला व्यापारिक घरानालाई कर छुटको प्रस्ताव



प्रतिक्रिया दिनुहोस्