Logo

पत्रकारको न्यूनतम पारिश्रमिक ३० हजार बनाउन माग



काठमाडौं १४ माघ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन सरकारसँग माग गरेको छ ।

महासंघको शनिबार ककनीमा सम्पन्न विस्तारित बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै बढ्दो महँगीलाई ध्यान दिई पारिश्रमिक कम्तीमा पनि ३० हजार रुपैयाँ मासिक हुनुपर्ने औंल्याएको छ । घोषणापत्रमा सूचना विभागको परिचयपत्र भएका सञ्चारकर्मी र सञ्चालनमा रहेका सञ्चारगृहलाई नि:शुल्क इन्टरनेट सुविधा प्रदान गरिनुपर्ने, ‘एक सञ्चार गृह, एक सवारी साधन’ व्यवस्था गरी भन्सार छुट गरिनुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवर्द्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याइनुपर्ने जस्ता माग रहेको शाखा अध्यक्ष शन्तराम विडारीले जानकारी दिए ।

‘खासगरी साना लगानीका सञ्चारमाध्यम र त्यहाँ कार्यरत पत्रकारको हितका लागि हामीले विभिन्न मागहरु राखेका छौं । त्यसलाई कार्यान्वयन गराउन दबाबमूलक कार्यक्रम समेतलाई निरन्तरता दिनेछौं’, विडारीले भने । पत्रकारहरुको ककनी घोषणापत्रमा समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरिनुपर्ने, प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित हुनुपर्ने, पत्रकारहरुलाई हाल लागू गरिएको दुर्घटना विमालाई जीवन वीमामा परिणत गरिनुपर्नेलगायत माग छन् ।

कार्यक्रममा महासंघका पूर्वकेन्द्रीय सचिव प्रभात चलाउने, पूर्वकेन्द्रीय सदस्य बालकृष्ण बस्नेत, प्रेस काउन्सिल सदस्य गोविन्दप्रसाद चौंलागाईसहितले परिवर्तित सन्दर्भमा सञ्चारमाध्यमको भूमिका र साना लगानीका मिडियाको संरक्षणसहितबारे विभिन्न सुझाव दिएका थिए ।

ककनी पर्यटन केन्द्र बनाउन सुझाव
यसैबीच ककनीमै शनिबार बिहान आयोजित एक कार्यक्रमका वक्ताहरुले राजधानीबाट नजिक भएपनि ओझेलमा परेकाले पर्यटन केन्द्रका रुपमा विकसित हुनुपर्ने बताए । महासंघ काठमाडौं शाखाको आयोजनामा भएको ‘पर्यटन विकासमा सञ्चारमाध्यमको भूमिका’ विषयक कार्यक्रममा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले अस्थिर राजनीतिका कारण कतिपय विकास निर्माणको काम अघि बढ्न नसकेको बताए । ‘अब समृद्धिको कामलाई तीव्र ढंगले बढाउनुपर्छ । भाषण मात्र गरेर हुँदैन’, महतले भने ।

कांग्रेसकै अर्का नेता भाग्यश्री लामाले १८ वटा हिमाल देखिने, कृषि पर्यटनको समेत सम्भावना भएको ककनीलाई पर्यटकीय हब बनाउन गृहकार्य गर्नुपर्ने बताए ।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्